रूपन्देही । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै रूपन्देही जिल्लाको मर्चवार, लुम्बिनी र माझगांव क्षेत्रबाट पछिल्लो समय तस्करीको धन्दा खुलेआम चलिरहेको आरोप स्थानीय व्यवसायी र बासिन्दाहरूले लगाएका छन्। उनीहरूका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकै मिलेमतो र संरक्षणमा ती नाकाहरूबाट दैनिक करोडौँ रुपैयाँ बराबरको अवैध कारोबार भइरहेको छ।
स्थानीय स्रोतका अनुसार लुम्बिनी क्षेत्रका विभिन्न नाकाहरू अहिले तस्करहरूको ‘सेफ जोन’ जस्तै बनेका छन्। सीमा नाकामा चेकजाँच नाममात्रको हुने, तस्करहरूलाई पहिल्यै ‘लाइन’ दिएर सामान ओसारपसार गर्न सहज वातावरण बनाइदिएको आरोप स्थानीय व्यवसायीहरूले लगाएका छन्।
स्थानीय व्यवसायीहरूको दाबी अनुसार रूपन्देही जिल्लाको लुम्बिनी क्षेत्र अहिले तस्करीको मुख्य केन्द्र बनेको छ। उनीहरू भन्छन्, “यहाँबाट कपडा, जुत्ता, चप्पल, टिभी, कुलर, एसीदेखि चिनी, कुखुरा, भैंसी, मकै र लसुनसम्म खुलेआम ओसारपसार भइरहेको छ।”
स्थानीय स्रोतले दिएको जानकारी अनुसार तस्करीको ‘पहिलो लाइन’ पाउने व्यक्तिमा प्रकाश यादव मुख्य रहेको आरोप छ। उनी कपडा, जुत्ता, चप्पलदेखि विद्युतीय सामग्रीसम्मको ठूलो परिमाणमा तस्करी गर्दै आएको दाबी गरिएको छ। स्रोतका अनुसार उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनीको संरक्षण र सेटिङमा तस्करीको सहज बाटो उपलब्ध गराइएको आरोप लगाइएको छ।त्यसपछि दोस्रो नम्बरमा लल्लु नाम गरेका व्यक्ति रहेको स्थानीय व्यवसायीहरूको भनाइ छ। लल्लुले मुख्यतः कपडा र जुत्ताको ठूलो तस्करी गर्दै आएको आरोप छ।
स्थानीय स्रोतका अनुसार लुम्बिनी नाकाबाट करिब १५ जनाको मोटरसाइकल समूह सक्रिय छ, जसले दैनिक रूपमा चिनी तस्करी गर्ने गरेको आरोप छ।एक मोटरसाइकलले दशौँ बोरा चिनी बोकेर नेपाल भित्र्याउने गरेको दाबी गरिएको छ। यसरी दैनिक लाखौँ रुपैयाँ बराबरको चिनी अवैध रूपमा भित्रिँदा स्थानीय उद्योग र व्यवसायीहरू ठूलो मारमा परेको उनीहरूको गुनासो छ।
स्थानीय व्यवसायीहरूको भनाइ अनुसार अशोक जैसवालले तेस्रो मुलुकबाट नेपालका लागि भनेर आयात गरिएको मकै भारततर्फ तस्करी गरिरहेको आरोप छ। उनले ठूलो परिमाणमा मकै भारत पठाएर राजस्व छलिरहेको दाबी गरिएको छ।त्यस्तै, ‘नेपाली’ उपनामले चिनिने एक मुस्लिम समुदायका व्यक्ति र प्रकाश नाम गरेका अर्का व्यक्तिले लसुनको ठूलो तस्करी गर्दै आएको आरोप स्थानीय स्रोतले लगाएका छन्।
यद्यपि पछिल्ला केही दिनयता लसुन तस्करी केही घटेको भनिए पनि चीनबाट नेपालका लागि आयात गरिएको लसुन भारततर्फ तस्करी गरेर नेपाली अर्थतन्त्रलाई खोक्रो बनाउने काम माफियाहरूले गरिरहेको स्थानीय व्यवसायीहरूको आरोप छ।
लुम्बिनी नाकाबाट भारतबाट ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्र्याइरहेको आरोप पनि स्थानीयहरूले लगाएका छन्।कुखुरा तस्करीमा इशुब र अकवाल नाम गरेका व्यक्तिहरू संलग्न रहेको दाबी छ। उनीहरूले मोटरसाइकल, साइकल मात्र होइन, पिकअप गाडीसम्म प्रयोग गरेर कुखुरा ओसारपसार गर्ने गरेको आरोप छ।जबकि नेपालमा भारतीय कुखुरा, चल्ला र अण्डा आयात पूर्ण रूपमा कानुनी रूपमा निषेध छ। यसरी प्रतिबन्धित वस्तु खुलेआम भित्रिँदा स्वदेशी पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको व्यवसायीहरू बताउँछन्।त्यसैगरी मुवारक र ललाउ नाम गरेका व्यक्तिहरूले भारतीय भैंसी नेपाल भित्र्याइरहेको आरोप पनि स्थानीय स्रोतले लगाएका छन्।
स्थानीय व्यवसायी र बासिन्दाहरूको मुख्य आरोप भनेकै—यी सबै तस्करी धन्दा प्रहरीकै संरक्षणमा चलिरहेका छन् भन्ने हो।उनीहरूका अनुसार सीमा नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही सदस्यहरूले ‘सेटिङ’ मिलाएर तस्करहरूलाई सहज बाटो बनाइदिएका छन्। “सामान कसको हो भन्ने थाहा हुँदाहुँदै आँखा चिम्लिने गरिन्छ,” एक स्थानीय व्यवसायीले नाम नछाप्ने सर्तमा भने।
तस्करीको अर्को पाटो
तस्करीको जालो केवल सीमावर्ती क्षेत्रमा मात्र सीमित छैन भन्ने प्रमाण हालै काठमाडौँमा पनि देखिएको छ।रूपन्देहीको छपियाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ७०१५ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाको टोलीले मंगलबार बिहान पौने ८ बजे रोकेर चेकजाँच गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार बसको सामान राख्ने डिक्कीमा लुकाइछिपाई ल्याइएका बिल विजक नभएका मोबाइल फोन फेला परेका थिए।प्रहरीले बरामद गरेका मोबाइलमध्ये वान प्लस कम्पनीका ३९ थान,आइक्यू कम्पनीका ४ थान,नथिङ कम्पनीका ५ थान, भिभो र जी कम्पनीका १–१ थान रहेका छन्।बरामद गरिएका ती मोबाइल आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
अर्थविद्हरूका अनुसार यसरी सीमा नाकाबाट हुने तस्करीका कारण राज्यले अर्बौँ रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ।तस्करीले एकातर्फ सरकारी ढुकुटी रित्तिँदै गएको छ भने अर्कोतर्फ स्वदेशी उद्योग, किसान र व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन्।
यति ठूलो परिमाणमा तस्करी भइरहेको आरोप लाग्दा पनि सम्बन्धित निकायको स्पष्ट प्रतिक्रिया आउन सकेको छैन। स्थानीय बासिन्दाहरू प्रश्न गर्छन् , “यदि प्रहरीकै संरक्षणमा तस्करी चलिरहेको छैन भने, यति ठूलो धन्दा कसरी सम्भव भयो?”उनीहरू तत्काल निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र सीमा नाकामा कडा निगरानीको माग गरिरहेका छन्।
रूपन्देही–लुम्बिनी क्षेत्र अहिले तस्करीको अखडा बनेको आरोपले राज्य संयन्त्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।प्रहरी प्रशासन, भन्सार र गृह मन्त्रालयले यी आरोपहरूलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्ने कि नगर्ने—त्यसको उत्तर खोजिरहेको छ रूपन्देही।जब सम्म यी प्रश्नहरूको जवाफ आउँदैन, तब सम्म “तस्करीको स्वर्ग” बन्दै गएको लुम्बिनी नाकाले नेपाली अर्थतन्त्रलाई झन् कमजोर बनाइरहने स्थानीयको चिन्ता छ।