वास क्षेत्रमा दिगो उपलब्धिका लागि स्रोत समायोजन प्रभावकारी रणनीतिका रूपमा अघि बढ्दै

14.9k Shares

काठमाडौँ । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा दिगो उपलब्धि हासिल गर्ने उद्देश्यले नेपालमा स्रोत समायोजन (स्रोत संकलन) को अभ्यासलाई प्रभावकारी रणनीतिका रूपमा अघि बढाइएको छ ।

विभिन्न सरोकारवाला निकायहरूबीच स्रोत साझेदारी गर्दै साझा लक्ष्य प्राप्त गर्ने यो अवधारणाले दोहोरो लगानी घटाउने, समन्वय बढाउने र सीमित स्रोतबाट बढी प्रभाव निकाल्ने अपेक्षा गरिएको छ ।

स्रोत समायोजन भन्नाले संघीय, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था तथा निजी क्षेत्रले उपलब्ध वित्तीय, मानवीय, प्राविधिक, पूर्वाधार तथा ज्ञान–सूचनामूलक स्रोतहरूलाई एकीकृत रूपमा प्रयोग गर्नु हो । यस अभ्यासले वास क्षेत्रमा देखिँदै आएको परियोजना दोहोरिनु, टुक्रिनु तथा असन्तुलित लगानीको समस्यालाई न्यूनीकरण गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोटका कार्यकारी निर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार नेपालमा वास क्षेत्रमा स्रोत समायोजनको अभ्यास संघीय, प्रदेश र स्थानीय सरकारबीचको संयुक्त लगानी तथा विकास साझेदारसँगको सहकार्यमार्फत अघि बढिरहेको छ ।

विशेषगरी क्षेत्रगत (सेक्टर–व्यापी) तथा कार्यक्रम–आधारित बजेट प्रणालीमार्फत खानेपानी तथा सरसफाइ आयोजनामा सह–लगानीको अभ्यास बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस प्रकारको वित्तीय स्रोत समायोजनबाट ठूलो तथा पूर्वानुमानयोग्य बजेट सुनिश्चित हुनुका साथै कार्यक्रमहरू राष्ट्रिय वास प्राथमिकतासँग राम्रोसँग मेल खाने गरेका छन् । यसले साना–साना, छुट्टाछुट्टै परियोजनामा सीमित रहने प्रवृत्ति घटाउँदै दीर्घकालीन प्रभाव पार्ने ठूला आयोजना कार्यान्वयनमा सहयोग पुर्‍याएको छ ।”

वास क्षेत्रमा स्रोत समायोजन बजेटमा मात्र सीमित नरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक श्रेष्ठले इञ्जिनियर, जनस्वास्थ्य अधिकृत, सामाजिक परिचालकजस्ता प्राविधिक जनशक्तिको साझा प्रयोग गर्न सकिने बताउनुभयो ।

विभिन्न निकायहरूबीच प्राविधिक क्षमता र अनुभव आदान–प्रदान गर्दा सेवा प्रवाहको गुणस्तर सुधार हुने र स्थानीय तहको संस्थागत क्षमता मजबुत बन्ने उहाँको भनाइ छ ।

“यस कार्यका लागि वास क्षेत्रीय कार्य समूह, प्राविधिक कार्यदल तथा समन्वय समितिजस्ता संयन्त्रहरू प्रभावकारी माध्यमका रूपमा विकसित हुँदै आएका छन् । यस्ता संयन्त्रहरूले नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन तहबीचको दूरी घटाउन सहयोग पुर्‍याउँदै आएका छन्,” निर्देशक श्रेष्ठले भन्नुभयो ।

वास क्षेत्रमा स्रोत समायोजनको मूल सिद्धान्त नै दोहोरो काम घटाउने, समन्वय बढाउने र सीमित स्रोतबाट अधिकतम प्रतिफल हासिल गर्नु हो । दिगो विकास लक्ष्य (एसडिजी) अन्तर्गत सुरक्षित खानेपानी र सरसफाइमा सबैको पहुँच सुनिश्चित गर्न स्रोत समायोजनलाई अझ संस्थागत, पारदर्शी र उत्तरदायी बनाउनु आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।

कार्यकारी निर्देशक श्रेष्ठले स्पष्ट भूमिका निर्धारण, पारदर्शी समन्वय र साझा उत्तरदायित्व सुनिश्चित गर्न सके स्रोत समायोजनले नेपालको वास क्षेत्रलाई दिगो, समावेशी र प्रभावकारी दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले वास क्षेत्रमा दीर्घकालीन उपलब्धि हासिल गर्न सबै तहका सरकार, विकास साझेदार तथा समुदायबीच सहकार्य र विश्वास अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । 

सम्बन्धित समाचार