जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

6.7k Shares

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार २८६ उद्योग दर्ता भएका छन् । तीमध्ये ८२५ उद्योग खारेज भएका छन् ।

कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार ४६१ उद्योग रहेका बताए ।

उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र तीन लाखमुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए । यी उद्योगबाट गत आवमा ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

उक्त कार्यालयले गत आवमा यहाँका आठ वटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ । जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् ।

सम्बन्धित समाचार