काठमाडौं । उपाधि होडमा रहेका चेल्सी र लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगमा २–२ को बराबरी खेल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई फाइदा भएको छ ।
भ्रमणकारी लिभरपुलले नवौं मिनेटमा सडियो मानेको गोलबाट अग्रता लिएको थियो । मानेले चेल्सीका गोलकिपर इडोवार्ड मेन्डीलाई कटाएर खाली पोष्टमा गोल गरेका थिए । २६औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलको अग्रता दोब्बर बनाए । सालाहले ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डको पासलाई नियन्त्रणमा लिएर पहिलो बार च्याप्दै हानेको प्रहारलाई मेन्डीले रोक्न सकेनन् ।
पहिलो रोजाइका फरवार्ड रोमेलु लुकाकु बिना खेलेको चेल्सीले ४२औं मिनेटमा माटेयो कोभासिचको गोलबाट पुनरागमन गर्यो । प्रशिक्षकसँगको खटपटपछि लुकाकुलाई लिभरपुलविरुद्धको टोलीमा समावेश गरिएको थिएन । चेल्सीले कीर्तिमानी रकम ९ करोड ७५ लाख पाउण्डमा यसै सिजनको सुरुमा अनुबन्ध गरेको लुकाकुले प्रशिक्षक थोमस टुचेलको भूमिकाबाट आफू खुसी नभएको भनि अन्र्तवार्ता दिएका थिए ।
पहिलो हाफको अन्तिममा अमेरिकाका क्रिष्टियन पुलिसिकले बराबरी गोल फर्काएका थिए । पुलिसिकले एन‘गोलो कान्टेको पासमा गोल गरेका थिए ।
बराबरीपछि २१ खेलबाट ४३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा यथावत छ । २० खेलबाट ४२ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । २१ खेलबाट ५३ अंक जोडेको सिटी १० अंकको अग्रतासहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुलले अब लिगमा १६ जनवरीमा ब्रेन्टफोर्डविरुद्ध खेल्नेछ । त्यसअघि लिभरपुलले ७ जनवरीमा आर्सनलविरुद्ध लिग कपको सेमिफाइनल खेल्नेछ । त्यस्तै ९ जनवरीमा श्रेसबरीविरुद्ध एफए कपको तेस्रो चरणको खेल खेल्नेछ ।
आइतबार राति नै सम्पन्न खेलमा एस्टन भिल्ला ब्रेन्टफोर्डसँग २–१ ले पराजित भयो । जितसँगै ब्रेन्टफोर्ड १९ खेलबाट २३ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ । पराजित एस्टन भिल्ला १३औं स्थानमा झरेको छ । एस्टन भिल्लाले २२ अंक जोडेको छ ।
१५औं स्थानको एभर्टनले ब्राइटनलाई ३–२ को नतिजा सुम्पियो । ब्राइटन आठौं स्थानमा उक्लिएको छ । १६औं स्थानको लिड्स युनाइटेडले १८औं स्थानको बर्नलीलाई ३–१ ले हरायो ।