काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका सांसदमाथि हातपात गरेका छन् ।
मण्डलले पदअनुकूल आचारण नगरेको भन्दै सात राजनीतिक दलले बिहीबार साँझ उनीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न गएका थिए । सात दलीय गठबन्धनका ६४ जना सांसद प्रदेशसभा सचिवालय पुग्दा सभामुख मण्डलले गुण्डा परिचालन गरेर विपक्षी सांसदलाई हातपातसमेत गरेको बताइएको छ ।
‘बिहीबार साँझ हामी २०÷२२ जना सांसद सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयमा गएका थियौँ । सभामुख मण्डलले ५०÷६० जना गुण्डा परिचालन गरेर हामीमाथि हातपात गर्नुभयो,’ माओवादी सांसद दबाहरलाल कुशवाहाले भने, ‘सभामुख आफैँले जनमतका महेश यादवको सर्टको कलर समातेर तान्नुभयो । लोसपाका उपेन्द्र महतो र जसपाका राजु गुप्तालाई पनि हातै हालेर हातपात गर्नुभयो । उहाँले हिजो साँझ आफ्नो कार्यकक्ष अगाडि पूरै गुण्डा शैलीमा सांसदहरुमाथि हातपात गर्नुभयो ।’
त्यसक्रममा सभामुख र एमालेका कार्यकर्ताले आफूहरूलाई दुई घण्टासम्म उपसभामुखको कार्यकक्षमा थुनेको पनि कुशवाहाले जानकारी गराएका छन् ।
‘सभामुखले गुण्डा उतारेर हामीलाई उपसभामुखको कार्यकक्षमा थुन्नुभयो । बिहीबार साँझ साढे पाँचदेखि साँढे सातसम्म हामीलाई कोठामा थुनियो,’ कुशवाहाले भने, ‘पछि डीएसपीसहित प्रहरी टोली आएपछि मात्रै हामीलाई छाडिएको थियो ।’
तर, सभामुख र एमालेको अवरोध छिचोल्दै आफूहरूले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको उनले बताए ।
कुशवाहाका अनुसार सांसदहरू सचिवालयमा पुग्दा उपसभामुखले तोक लगाइसकेको प्रस्ताव दर्ता गर्न सभामुख मण्डलले रोक्ने प्रयास गरेका थिए । तर, सभामुखले रोक्दा रोक्दै पनि सचिवालयका कर्मचारीले उनीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।