काठमाण्डौ – ललितपुरको जावलाखेलमा १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पर्सि २९ गतेदेखि शुरू हुने भएको छ । फ्लोरिकल्चर एशोशिएसन नेपालको आयोजनामा जावलाखेलको खेलमैदानमा पर्सिदेखि कात्तिक २ गतेसम्म मेला सञ्चालन हुन लागेको हो ।
आयोजकका अनुसार मेलामा झन्डै ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । झन्डै एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेलामा ८० व्यावसायिक स्टल, ५ अफिसियल स्टल, २ प्रतियोगितात्मक स्टल, १ प्लान्ट क्लिनिक स्टल र फोटो सेल्फी स्टलसहित जम्मा ९० वटा प्रदर्शनी कक्ष रहनेछन् । यस मेलालाई नेपालकै सबैभन्दा ठूलो गोदावरी फूल प्रदर्शनीका रूपमा लिइएको छ ।
प्रदर्शनीको प्रमुख आकर्षण गोदावरी फूलको प्रतियोगिता रहने र प्रतियोगितामा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलहरू पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट गोदावरी उत्पादन गर्ने फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ । साथै, उत्कृष्ट स्टलको लागि छुट्टै प्रतिस्पर्धा गरिनेछ । मेलामा झन्डै चार सय ५० भन्दा बढी प्रजातीका फूल बिरुवाहरू प्रदर्शन र बिक्रीका लागि राखिनेछन् ।
गोदावरी फूल बाहेक सयपत्री, मखमलीलगायत तिहार र छठमा बढी प्रयोग हुने मौसमी फूल तथा आलङ्कारिक बिरुवाहरूको पनि बिक्री हुनेछ । यस्तै, रोग र किराको समस्या समाधानका लागि बालिरोग विशेषज्ञहरूसहितको टोलीद्वारा प्लान्ट क्लिनिक स्टलबाट निःशुल्क परामर्श सेवा दिइनेछ ।