काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए), माल्टाले माल्टामा सडक दुर्घटनामा परी निधन भएका खीमबहादुर पुनको परिवारलाई ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग रकम हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।
गत साउनमा पुनको निधन भएपछि गोफन्डमी (GoFundMe) मार्फत उक्त रकम संकलन गरिएको थियो। प्राविधिक कारणले भुक्तानीमा ढिलाइ भए पनि हाल रकम पठाउने काम सुरु भएको एनआरएनए माल्टाले जनाएको छ।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले पुनकी पत्नीसँगको छलफलपछि परिवारको हितलाई ध्यानमा राख्दै उक्त रकम उपयोग गर्ने निर्णय भएको बताए। सोही अनुसार, परिवारका तीन सन्तानमध्ये जेठा छोरा विश्वास पुनको नाममा प्रभु बैंकमा स्थायी निक्षेप खाता खोलिएको छ। माल्टाबाट बैंक खातामार्फत एक दिनमा अधिकतम १० लाख रुपैयाँ मात्र पठाउन सकिने भएकाले सम्पूर्ण रकम हस्तान्तरण गर्न करिब पाँच–छ दिन लाग्नेछ।
सहयोग संकलन अभियानमा माल्टा कास्की समाज र नेवा समाज माल्टाले गरेको विशेष सहकार्यप्रति एनआरएनए माल्टाले आभार व्यक्त गरेको छ। रकम पूर्ण रूपमा हस्तान्तरण भइसकेपछि परिवारको तर्फबाट प्राप्तिको रसिद सार्वजनिक गरिने संघले जनाएको छ।
गत साउनमा कारको ठक्करबाट निधन भएका खीमबहादुर पुनलाई न्याय दिलाउन एनआरएनए माल्टाले निरन्तर पहल गरिरहेको छ।