भिजिट भिसाका नाममा शोषण किन ?

8.6k Shares
——— बसन्त कुँवर
संसारमै मानिसहरू घुम्न जान्छन्, अवसर पाए त्यतै काम पनि गर्छन् र मन परे त्यतै घरजम मात्र होइन, त्यहीँको नागरिक भएर पनि बस्छन्। यसमा ती व्यक्तिको गल्ती र अपराध के भयो त ? यसमा नेपालको पेट पाल्ने सम्मको रोजगार दिन नसक्ने सरकारलाई आपत्ति हुनु पर्ने कारण के छ त ?? एउटा नेपाली भारतको दिल्ली, बम्बै वा सिमलातिर घुम्न गयो, त्यतै काम पाएकोले त्यतै काम पनि ग¥यो, त्यतै प्रेम पनि पर्यो र घरजम पनि ग¥यो, उसलाई भारत नै मन पर्यो र नियमअनुसार त्यहीँको नागरिक भयो, यसमा नेपालको सरकारलाई आपत्ति के भयो त ?
 
त्यसै गरी कुनै अर्को देशबाट नेपाल घुम्न आयो, उसलाई नेपालै मन पर्यो, उसको यतै प्रेम पनि पर्यो, काम पनि पायो, विवाह पनि ग¥यो, नेपाली पनि भयो, यसमा त्यो देशको सरकारको टाउको दुख्नु पर्ने कारण के छ त ? अमेरिका, क्यानडा, अष्ट्रेलिया भन्ने देशहरू पनि यसै गरी अर्को देशबाट आएका हरुकै बाहुल्यताबाट भरिँदै गएको देश नै हो, नत्र त्यहाँ काम गर्न र खेती गर्न मान्छे पुग्थेन। पहिला त त्यहाँ केही आदिवासीहरू मात्र थिए।
कोही भारत जाँदा पासपोर्ट र भिसा लिनु परेन होला र कुनै देश जाँदा पासपोर्ट र भिसा लिनु पर्यो होला तर दुबै कन्डीसनमा नेपालीहरू बाहिर त गएकै हुन् नि। फेरि भारततिर घुम्न जाँदा उतै काम गर्न मिलेजस्तै नेपालीहरूले अरू देशमा पनि घुम्न जाँदा पनि त्यतै काम गर्न किन नहुने ? काम गरेर पैसा कमाउन किन नमिल्ने ?? त्यो देशले काम दिएमा त्यो काम गर्न किन नमिल्ने ??
 
अतः मेरो विचारमा भिजिट भिसामा घुम्न गएका कुनै नेपालीले त्यतै काम पाउँदा काम गर्नु कुनै अपराध र नचाहिने काम होइन तर यो काम विवादित र आपराधिक बनाए, म्यानपावरका दलाल र लोभी पापी सरकारी कर्मचारीहरूले “ जसले डर देखाएर वा भ्रममा पारी ती विदेश जाने सोझा साझा गरीब नेपालीहरूलाई “हामीले चाहे तिमीलाई रोक्न सक्छौं” भनी त्रास देखाएर शोषण गरे र बिस्तारै बिस्तारै नेपालीहरूलाई यही डरको खेतीमार्फत तिनले कमाई गर्ने स्रोत र तरिका बनाए।
 
अतः मलाई लाग्छ यदि म्यानपावरका नाममा ठगी खाने दलाल र लोभी पापी सरकारी कर्मचारीले विदेश घुम्न जानु र मन पर्दा र अवसर पाउँदा उतै काम गर्नुलाई सामान्य प्रक्रिया ठानी, यस प्रक्रियालाई व्यापार नबाउने हो भने वा ठगी खाने भाँडो नबनाउने हो भने “भिजिट भिसा भन्ने कुरा कुनै समस्या नै होइन” बरु यो पासपोर्ट लिएर वा नलिएर देश–विदेश घुम्न पाउने नागरिकहरूको नैसर्गिक अधिकारको एक अंश नै हो। मानौं नेपालको कुनै इमिग्रेशन अफिसरले वा प्रहरीले भिजिट भिसामा थाइल्याण्ड वा दुबई जान लागेका कुनै नेपालीलाई सोधे “तपाईं ती देशमा किन जाँदै हुनुहुन्छ”? जानेले भने “म ती देश घुम्छु पनि र मिले काम गरी घुम्न गएको खर्च उठाउँछु पनि वा मसँग पैसा छ ती देश घुम्छु र केही सिकेर पनि आउँछु” भन्यो भने अपराध के भयो त ?? रोक्ने किन ?
 
अतः मलाई लाग्छ भिजिट भिसामा विदेश जाने नेपालीको कुनै दोष छैन, उसँग त्यस देशमा जाने भिसा छ, त्यहाँ जान पाउने नेपाली पासपोर्ट छ। यस सन्दर्भमा कतै दोष छ भने त्यो ती दलाल र सरकारी कर्मचारीहरूको आपराधिक नीयतमा छ, जो ती सोझा साझा गरीब र विवश नेपालीहरूलाई डरको खेतीमार्फत शोषण गरी रकम कमाउन तल्लिन थिए, छन् र भविष्यमा पनि हुने छन्।
 
सरकारका कर्मचारीहरूले हरेक नेपालीहरूलाई विदेश जाँदा अपनाउनु पर्ने सावधानी बुझाउनु जरुरी छ तर एयरपोर्टमा पैसा पाए सेटीङ गरी उडाइदिने र नपाए रोक्ने खालको “अपराध” गरी रहन जरुरी छैन।“कति शोषण गर्ने गरीब नेपाली माथि ?”
पूर्व एसएसपी
सम्बन्धित समाचार