तम्घास(गुल्मी), साउन ९ गते । गुल्मी जिल्लाबाट ७८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । विसं. २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ७८ जनाले गैरआवसीय नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको गैरेले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा १२ जना, २०८०/८१ मा ४८ जना र गत आर्थिक वर्षमा १८ जना गरी कुल ७८ जनाले गैर आवसीय नागरिकता लिएका हुन् ।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । नेपालबाट विदेशमा गएर त्यहीको नागरिकता लिइसकेका प्रवासी नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता लिन थालेका हुन् ।
प्रशासनका न्यून जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन आएमा उसै दिन प्रदान गर्न नसकिने गैरेले बताउनुभयो ।
गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।
गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार वाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लाग्र भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो । गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, राहदानी बनाउन पाउने छैनन् । तर सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।