काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले हालै बढाएको श्रमिकको न्यूनतम ज्यालालाई ‘कागजी न्याय’ को संज्ञा दिँदै यसले श्रमिकको वास्तविक जीवनस्तर र बजारको क्रूर महँगीबीचको खाडल पुर्न नसक्ने बताएका छन् ।
ज्याला निर्धारणको वैज्ञानिक आधारलाई लत्त्याएर केवल अंक बढाउने तदर्थवादी शैलीले श्रमिकलाई तात्त्विक राहत दिन नसक्ने उनको विश्लेषण छ ।
प्राज्ञिक विमर्श समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीपीको समाजवाद र आजको कांग्रेस’ विषयक कार्यक्रममा बोल्दै नेता महरले सरकार, रोजगारदाता र केही ट्रेड युनियनबीचको सहमतिमा तोकिएको नयाँ ज्यालामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
‘साउन १ गतेदेखि लागू भएको १९,५५० रुपैयाँको नयाँ ज्याला सामान्य रूपमा थोरै अग्रगामी देखिए पनि यो श्रमिकको पसिनाको उचित मूल्य होइन । महँगीले उसको आँखामा ल्याएको आँसुमाथिको मोलतोल जस्तो देखियो,’ नेता महरले मर्मस्पर्शी टिप्पणी गरे, ‘यो वृद्धिले उसको भान्सामा थोरै राहत देला, तर बच्चाको महँगिएको शिक्षा, परिवारको स्वास्थ्य उपचार र भविष्यको सामान्य सपनालाई सम्बोधन गर्न सक्दैन ।’