काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षीय पदाधिकारीहरूले ‘कारबाही’ गर्नुपर्ने बताइरहेका बेला भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले सुटुक्क इतर समूहका नेता डा. शेखर कोइरालालाई भेटेका छन् ।
भिजिट भिसा प्रकरणमा नाम मुछिएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको मार्गप्रशस्त गर्दा उचित हुने अभिव्यक्ति दिएका नेता कोइरालालाई लेखकले मंगलबार सुटुक्क भेटेका हुन् ।
गृहमन्त्री लेखक नेता कोइरालालाई भेट्न मंगलबार बिहान ८ बजे आसपास बालुवाटारस्थित सम्पर्क कार्यालय पुगेका थिए । उनीहरूका बीचमा झण्डै ४० मिनेट कुराकानी भएको कोइरालानिकट एक नेताले जानकारी दिएका छन् ।
तर, कोइरालानिकट अर्को स्रोतले गृहमन्त्री लेखकसँग मात्र १० मिनेट ‘वान अन वान’ कुराकानी भएको खबरहबलाई प्रतिक्रिया दिएको छ । ‘विराटनगरमा बोलेपछि गृहमन्त्रीले भेट्न खोजिरहनुभएको थियो । समय मिलिरहेको थिएन,’ ती स्रोतले भने, ‘अस्ति मंगलबार बिहान ८ बजेपछि सम्पर्क कार्यालय आउनुभएको थियो । १० मिनेट जति एक्ला–एक्लै कुरा भएको हो ।’
नेता कोइरालाले जेठ १० गते गृहनगर विराटनगर पुगेर ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । अनियमिततामा मुछिएको अवस्थामा राजीनामा दिए गृहमन्त्रीको नैतिकता प्रदर्शन हुने उनको भनाइ थियो ।