बाँके । भारतबाट नेपाल, विशेषगरी बाँके जिल्लामा कुखुराको अवैध तस्करी बढ्दो छ। यस्तो तस्करीले सीमा सुरक्षा, सार्वजनिक स्वास्थ्य तथा स्थानीय कुखुरा व्यवसायमा प्रतिकूल असर पारिरहेको छ। भारतबाट आयात हुने कुखुरामा विभिन्न रोगहरूको जोखिम रहन सक्छ, जसले गर्दा स्थानीय उत्पादनमाथि ठूलो असर पर्न सक्छ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको एक क्विन्टल बोइलर कुखुरा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ। सशस्त्र प्रहरी बल साईगाउँ फार्वर्ड बेस क्याम्पको गस्ती टोलीले दोंद्रा नाला नजिकै कुखुरा बरामद गरेको हो। सशस्त्रको टोलीले कुखुरासहित तस्करहरूले प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।सशस्त्रको गस्ती टोली देखेपछि तस्करहरू मोटरसाइकल र कुखुरा छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। भारतबाट सस्तो मूल्यमा कुखुरा ल्याउने क्रम तीव्र रूपमा बढ्दो छ। यसले नेपाली कुखुरा व्यवसायी र किसानहरूलाई ठूलो मार परेको छ।
भारतको सिपरा नाकाबाट नेपालतर्फ अवैध रूपमा भित्र्याइएको पाँच क्विन्टल बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल, नं. ३० गण बागेश्वरी हेडक्वाटर बाँकेबाट खटिएको मोबाइल गस्ती टोलीले जानकी गाउँपालिका वडा नम्बर २ इटाभट्टा नजिकैबाट उक्त कुखुरा बरामद गरेको हो।
भारतको सिपरा बजार निवासी तस्कर पंकज धोबीको कमाण्डमा भारतीय नागरिक कुर्बान लगायत पाँचजना कुखुरा तस्करीमा संलग्न छन्। धोबीले सुरक्षाकर्मीलाई मासिक रूपमा रकम बुझाएर बाटो क्लियर छ भने मात्र सामान ओसारपसार गरिन्छ।
पंकज धोबीले नेपाल–भारत दुवैतर्फका तस्करहरूसँग सेटिङ मिलाउने गरेका छन्। उनले तस्करीमा संलग्न महिला तथा पुरुषहरूमार्फत रकम संकलन गरी बढैया देखि बेलडाँडासम्मका सुरक्षाकर्मीलाई मासिक रूपमा रकम बुझाउने गरेका छन्। कुखुरा व्यवसायी मञ्च बाँकेका उपाध्यक्ष अहमद हुसेन खाँले उच्च निकायका प्रमुखसँग दोषी सुरक्षाकर्मीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
यस समस्यालाई गम्भीरतापूर्वक लिएर सम्बन्धित निकायले सीमा नाकाहरूमा निगरानी बढाउनु अति आवश्यक छ। स्थानीय प्रशासन, पशु सेवा विभाग, सुरक्षाकर्मी र सरोकारवाला निकायबीच समन्वय गरी नियमित रूपमा अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाइनु पर्दछ।यस्तो अवैध कार्य रोक्न जनचेतना पनि अत्यन्तै महत्वपूर्ण छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई तस्करीका नकारात्मक असरबारे जानकारी गराई तिनीहरूको सहयोगमा नियन्त्रण कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ। तसर्थ, भारतबाट बाँके हुँदै हुने कुखुराको तस्करी रोक्न सबै पक्षको सहकार्य, कडाइ र सचेतना अत्यावश्यक छ।