काठमाडौँ - सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो।
पुरातात्त्विक प्राचीन र ऐतिहासिक महत्त्वको दरबार भएकाले यसलाई राष्ट्रियकरण गर्ने गरी प्रक्रिया सुरु गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले बिहीबार मन्त्रालयका सचिव अर्जुन पोखरेलसहितका कर्मचारीसँग छलफल गर्दै शेरा दरबारलाई राष्ट्रियकरण गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। ‘पुरातात्त्विक महत्त्व र प्राचीन दरबार भएकाले यसलाई राष्ट्रियकरण गरेर संरक्षण गर्नु सरकारको दायित्व हो’, मन्त्री अधिकारीलाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो।
स्रोतका अनुसार मन्त्रालयले यसका लागि प्रक्रिया सुरु गरिसकेको छ। मन्त्रालयका सचिव पोखरेलले भने यससम्बन्धी फाइल आफूकहाँ आइनपुगेको जानकारी दिए। ‘शेरा दरबारको फाइल आइपुगेको छैन’, उनले भने।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बिहीबार मन्त्री अधिकारी, सचिव पोखरेल, प्रशासन महाशाखा प्रमुख मदन कोइरला, जग्गा प्रशासन महाशाखा प्रमुख श्रवण पोखरेलबीच छलफल भएको थियो। छलफलमा शेरा दरबार र त्यसले चर्चेको जग्गालाई नेपाल सरकारका नाममा ल्याउन कानुनी प्रक्रिया र आधारहरू प्रस्तुत गरिएको थियो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता गणेश भट्टले यो विषयमा आफूलाई जानकारी नभएको बताए।
‘मन्त्रालयमा शेरा दरबार मात्र होइन, अन्य सार्वजनिक जग्गा पनि सरकारका नाममा ल्याउने विषयमा छलफलहरू भइरहन्छन्। शेरा दरबारको जग्गा सम्बन्धमा छलफल भएको विषय मेरो जानकारीमा छैन’, उनले भने। उनका अनुसार अहिले शेरा दरबारले चर्चेको जग्गा सरकारका नाममा ल्याउने विषयमा विभिन्न निकायबीच छलफल भैरहेको छ।
सुरुमा २०३५ फागुन १२ गते शेरा दरबार र सो दरबारले चर्चेको कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ को १६४–१३ –०२–०१ क्षेत्रफल जग्गा गौरीशंकर फार्मिङका नाममा नापी भएको नापी कार्यालय नुवाकोटको अभिलेखबाट देखिन्छ। शेरा दरबार र त्यसले चर्चेका जग्गा तत्कालीन राजा महेन्द्रका भाइ बसुन्धराकी पत्नी हेलेन शाह र विजय राज्यलक्ष्मी शाहको अंशमा परेको थियो।
भूमिसुधार ऐन आएपछि हदबन्दीका कारण व्यक्तिका नाममा नापी हुन नसकेपछि सो जग्गालाई गौरीशंकर फार्मिङको नाममा नापी गराइएको थियो। सुरुमै सरकारको नाममा रहेको जग्गा किन गौरीशंकर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि व्यवस्था मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले खोतलेको थियो।
शेरा दरबारको जग्गा गौरी शंकर फार्मिङको नाममा नापी भए पनि त्यसको सञ्चालक र सेयरधनी हेलेन शाह र विजया राज्यलक्ष्मी शाह नै थिए। २०२७ फागुन २८ मा स्थापित गौरी शंकर फार्मिङ नामक संस्था २०३६ असार १ को निर्णयपछि अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ। २०४४ असार ११ गतेको तोक आदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरी शंकरलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो। २०५२ सालसम्म विजया राज्यलक्ष्मी शाहको नाममा रहेको उक्त कम्पनीको सेयर जयन्ती शाहको नाममा गएको देखिन्छ। ‘यहीनेर कमजोरी देखिएको छ’, स्रोतले भन्यो।
२०५२ सालमा हेलेन शाह र जयन्ती शाहको नाममा रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ, सोहीनी श्रेष्ठ गरी चारजनाको नाममा हस्तान्तरण भएको थियो। त्यसपछि २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निणर्यले विकेश श्रेष्ठको नाममा ५ लाख ६७ हजार ५ सय कित्ता सेयर ५ करोड ६७ लाख ५० हजार रूपैयाँमा किनबेच भएको देखिन्छ।
त्यसैगरी अजयकुमार सूर्यवंशीको नाममा पनि सेयर रहेको छ। उनका नाममा ४ लाख ६० हजार ४१० कित्ता सेयर ४ करोड ६० लाख ४१ हजार रूपैयाँमा किनबेच भएको देखिन्छ। त्यसैगरी नुवाकोट विदुर न.पा. वडा नं.४ बस्ने ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ।
यसैगरी काठमाडौं नागार्जुन न.पा. वडा नं. ७ बस्ने सुमन पारिकको नाममा सेयर कित्ता संख्या ४५ हजार ४५ लाख रूपैयाँमा किनबेच भएको देखिन्छ। यी चारजनाको नाममा ११ करोड १७ लाख, ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीको नाममा लगेको देखिएको छ। २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत रही विकेशका छोरा मनोवल श्रेष्ठका नाममा ९० लाख रूपैयाँमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो। हाल यसको सेयरधनी तीनजना मात्र छन्। आजको नागरिक दैनिकबाट