अघोषित लोडसेडिङले सास्ती

6.2k Shares

सुर्खेत । अघोषित लोडसेडिङका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आसपासका क्षेत्रमा दैनिक जीवन असहज बन्दै गएको छ । गर्मीमा एकातिर बत्ती नहुने, अर्कोतिर खानेपानीको सङ्कटमा वीरेन्द्रनगरवासी छन् ।

वीरेन्द्रनगरवासीले वैशाख अन्तिम सातादेखि छिनछिनमा विद्युत् सेवा अवरुद्ध हुने समस्या भोग्दै आएका छन् । मंगलबार बिहानदेखि दिउँसो दुई बजेसम्म पटक–पटक विद्युत् आउने–जाने भइरहेको थियो । दिउँसोदेखि काटिएको विद्युत् बेलुका ८ बजेमात्र आएको थियो ।

‎रातभर विद्युत् अवरुद्ध नभए पनि बुधबार बिहान ५ बजेपछि फेरि विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि सधैँजसो विद्युत् आपूर्तिमा वीरेन्द्रनगरवासीले यस्तै सास्ती झेल्दै आएका छन् ।

‘एक त बत्ती नै आउँदैन, आएको वेलामा पनि झ्याप्प–झ्याप्प हुन थाल्यो,’ वीरेन्द्रनगरको एरीचोकमा बस्दै आएका उपेन्द्र रावतले भने, ‘दिउँसो गर्मीले कोठाभित्र बस्न सकिँदैन ।’

‎सोमबार बेलुका र मंगलबार बेलुका पानी पर्दा केही राहत भए पनि विद्युत् अनियमित हुँदा दैनिक कामकाजमा भने समस्या भइरहेको उनको भनाइ छ । विशेषगरी होटल, उद्योग तथा कार्यालयहरूमा विद्युत् अभावले कामकाज प्रभावित हुने गरेको छ ।

‎विद्युत् प्राधिकरण कार्यालय विभिन्न कारणले विद्युत् अवरुद्ध हुने गरेको जिकिर गर्दछ । ‎बुधबार बिहान कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा समस्या आएको प्राधिकरणले जनाएको छ । ‎प्राधिकरणले भनेको छ, ‘वीरेन्द्रनगर बजार र तातापानी फिडर अवरूद्ध छ ।’

पछिल्लो सूचनामा छिन्चु–कोहलपुर क्षेत्रमा फल्ट देखिएको र मर्मत टिम परिचालन भइसकेको जनाउँदै प्राधिकरणले असुविधाका लागि क्षमा मागेको छ ।

‎राजधानीभित्र‌ पनि खण्ड–खण्ड गरेर विद्युत् वितरण गरेको देखिन्छ । जसका कारण एक पटकमा एउटा खण्डमा विद्युत् प्रवाह हुँदा अर्को खण्डमा लोडसेडिङ भइरहेको हुन्छ ।

‎वीरेन्द्रनगर नगरपालिका–३, का हरिभक्त घिमिरेले भने, ‘दिउँसो एकछिन बत्ती आउने–जानेजस्तो देखियो, फेरि साँझमा बत्ती गयो ।’ यसरी दिन प्रतिदिन समस्या बढिरहनुका पछाडि विभिन्न बहानामा लापरबाही भइरहेको उनको बुझाइ छ । यदाकदा प्राकृतिक र प्राविधिक कारणले विद्युत् अवरुद्ध हुन सक्ने तर सधैँजसो यसरी अनियमित हुनुमा भने लापरबाही भएको उनले बताए ।

‎स्थानीयले बरु लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न प्राधिकरणलाई सुझाव दिएका छन् ।

विद्युत् प्राधिकरणको सुर्खेत कार्यालय प्रमुख अशोक लोहनीका अनुसार सोमबार रातिको हावाहुरी र पानीले सुर्खेतको धेरै स्थानमा विद्युतीय संरचना क्षति भएको छ । सोही कारण मंगलबार धेरै समय विद्युत् अवरुद्ध भएको उनको भनाइ छ ।

‘सुर्खेतमा विगतका वर्ष कोहलपुरको मात्र ३३ केभी लाइन हुँदा यही समयमा २–४ दिन बिराएर निकुञ्जतिर तार चुँडिएको भन्ने खालको फेसबुक पोष्ट त देख्नु भएको नै थियो होला,’ उनले भने, ‘अहिले उक्त लाइनको साथसाथै लम्की, चिसापानीको ३३ केभीसमेत थप हुँदा कोहलपुर लाइनमा लोड बढी भएर तार चुँडिने समस्या छैन । भोल्टेज लेभल पनि यही समयको अघिल्लो वर्षको भन्दा यो वर्ष राम्रो भएको छ ।’

‎पश्चिमको लाइन हावाहुरीका कारण क्षतिग्रस्त हुँदा कोहलपुरको लाइनले अहिलेको सुर्खेतको पिक लोड धान्न सक्ने अवस्थामा छैन । त्यसैले केही दिन विद्युत् समस्या बढ्ने देखिएको उनले बताए ।

सम्बन्धित समाचार