-डी.बी.नेपाली
कालीकाेट । मानव सभ्यता भनाैं या मानव सभ्यताकाे विकास जब घुमन्तेबाट एउटा निश्चित ठाँउ जहाँ उसले बस्न उचित र सुरक्षित ठान्याे त्यसलाई घेराबन्धी गरेर या सिमाना काेरेर बस्न थाल्याे र कबिलाबाट समुदाय हुँदै गाँउ शहर र देशहरुकाे निर्माण गर्दै ती गाँउ, शहर या देशहरुमा सुव्यवस्था, समृद्धी, सदभावना कायम राख्न तीनै गाँउ, शहर या देशमा भएका केही अली जानकार, बुद्धीमान र शक्तिशाली ब्यक्तिहरुलाई बिभिन्न कामकाे जिम्मेवारी दिने चलनकाे थालनी भयाे । बिस्तारै त्यस चलनकाे रुप रुपान्तरित हुँदै सरकार या सत्ताकाे रुप धारण गर्दै गयाे । ती गाँउ र शहरहरुमा सुव्यवस्था र सदभाव बनाइ राख्नकाे लागि तिनै गाँउ र शहरका जनताले केही निश्चित ब्यक्तिलाई आफ्नु समुदायकाे प्रमुख चयन गर्ने चलन कायम गरे र आफुले चयन गरेका तिनै जनता प्रमुखहरुकाे नीति निर्देशन मान्न थाले। यसरी एउटा समुदायलाई अलि चलाख एउटा ब्यक्तिले नियन्त्रन गर्ने चलन स्थापित हुँदै गयाे भने धेरै गाँउ र शहरहरुलाई गाभेर बनाएकाे राष्ट्र या देशलाई नियन्त्रण गर्न सक्ने ब्यक्तिलाई राजा महाराजा,सम्राट आदी भन्न थालियाे।
घुमन्ते बेलाकाे मानव इतिहास खासै चर्चामा त्यति देखिदैन तर जब मान्छे पृथ्वीकाेे केही सिमित क्षेत्रलाई सिमामा बाँधेर राष्ट्र या देश भनेर राज्य गर्न थाल्याे तब देखिकाे इतिहास हेर्ने हाे भने अहिलेकाे बैज्ञानिक समाजसम्म पुग्दा पनि एकअर्काे राष्ट्र या समुदाय माथि आक्रमण गर्ने युद्ध गर्ने,अर्काे राष्ट्रकाे सिमाना, संस्कार र धर्मलाई खुम्च्याएर आफ्नु हैकम जबरजस्ती लाध्ने काम लगातार गर्दै आएकाे छ र जात, जाति, धर्म ,संस्कार र सिमानालाई आफ्नु अधिन राख्न गरिने लडाँइकाे राजनीतिबाट मानव समाज अहिलेसम्म पनि मुक्त हुन सकेकाे छैन । उहिलेदेखि अहिलेसम्म आइपुग्दा पनि मान्छे सिमाना, राष्ट्र, संस्कार, जात जाती, काम र धन सम्पत्तीकाे आधारमा गरिने वर्गीकरणकाे जंजीर ताेडेर बाहिर आउन सकेकाे छैन। जबसम्म मानव वर्गविहिन समाज र सिमाना विहिन धर्तीकाे विचार बाेक्ने अवस्थामा आउन सक्दैन,जबसम्म मानव समाज पुजीवादकाे दलदलबाट मुक्त हुन सक्दैन उ अंझै पनि युगाैंयुग पुजीपति या धनवान बन्ने र जमिनलाई सिमा रेखा भित्र बन्धक बनाउने राजनीति गरेर सत्ताधारी शासक बन्ने र ब्यापार व्यवशाय गरेर पुजी थुपार्ने र धनवान बन्ने कसरत या षडयन्त्र गर्नबाट मुक्त हुनै सक्दैन ।
राजनीति गर्न जसरी लाखाैलाख जनतालाई बिभिन्न खाले प्रलाेभन ,झुटा आश्वासन द्वारा उनिहरुकाे जीवन स्तर उच्च बनाउने,सुशासन र सुव्यवस्ता कायम गर्ने बाचाबन्धन गरेर उल्लु बनाएर ओैंला बाङ्गाे गरि घ्यु निकाल्न सक्ने क्षमता बचाइ राख्न सक्नेछन् । जसले लाखाैंलाख जनतालाई सकारात्मक या नकारात्मक उसका काम र बाेलीहरुमा ताली ठाेक्ने र बत्तिसी देखाएर नक्कली हाँसाे खित्का छाेडी हाँस्ने बनाउन सक्नेछन्, तबसम्म तिनै जनताका प्रतिनिधि भन्ने कि शाेषक भन्ने कि, तिनै जनताले नै छानेका छट्टुहरु नै हिजाे पनि सफल राजनीतिज्ञ थिए आज पनि छन र भाेली पनि त्यस्तै ब्यक्तिहरुले नै राज्य सत्ता चलाउने छन् । रामायण, महाभारत कालदेखि वर्तमान अवस्थामा आइपुग्दासम्म मानवकाे विचारमा के परिवर्तन भएकाे छ र ? रामायण कालकाे व्यवस्थाकाे कथा पनि राज्य सत्ता चलाउनकाे लागि सुव्यवस्था र कुव्यवस्था कै लडाँइमा अल्झिएर सकिएकाे देखिन्छ भने महाभारमा त प्रष्ट भाइभाइमा सत्ता हत्याउने लडाँइ भएकाे प्रष्ट छ ।
गाँउघरमा भाइभाइमा अंशबन्डाकाे लडाइ, राजा महाराजा र दलीय राजनीतिज्ञहरुमा लगातार सत्ताकाे लडाँइ बाहेक अरु खासै काम गरेकाे केही पनि देखिन्न बाटाे घाटाे, यातायातकाे विकास त अहिलेकाे अवस्थासम्म आइपुग्दा पनि रामायन काल कै शासन व्यवस्था भए पनि हुनबाट कसैले राेक्न सक्ने थिएन ? अंझ भन्ने हाे भने राजनीति र सत्ता स्थिर भएकाे भए, सत्ताधारीहरुले सत्तामा कब्जा जमाइ राख्न जनतालाई युद्धकाे मैदानमा हाेम्दै नआएकाे भए अहिलेकाे भन्दा समाजकाे विकास अंझै धरै उन्नत र राम्राे हुने थियाे। उहिलेकाे कुरा खुइल्याे भने जस्तै उहिलेकाे कुरा र संसार दुनियाका कुरा छाेडाैं। केवल नेपालकाे मात्रै लगभग चारसय बर्षकाे राजनीतिक इतिहास हेर्ने हाे भने राजतन्त्र, राणातन्त्र, प्रतातान्त्रिक राजतन्त्र, पञ्चायती राजतन्त्र, संबैधानिक राजतन्त्र हुँदै वर्तमान संघीय लाेकगणतन्त्रसम्म आइ पुग्दा परिवर्तित या फेरिएका राजनैतिक व्यवस्था र अवस्थाले याे राष्ट्रमा खासै ठुलाे राजनैतिक परिवर्तन गरेकाे केही पनि देखिन्न ।
हिजाेकाे राजतन्त्र हाेस या आजकाे गणतन्त्र हाेस चरित्रमा कत्तिपनि बदलिएकाे देखिन्न । संसार भरिमा राज्य सत्ताकाे उत्पत्ति भएदेखिकाे काम,व्यवहार ,विचार र चरित्र उस्ताकाे उस्तै छ । लडाइ र संघर्ष उस्तै छ । राजनीतिकाे म्याराथन उस्तै छ ,सत्तामा कब्जा कसरी जमाउने,सत्तामा कसरी टिकी रहने,राज्यले जनता माथि थाेपारेकाे करबाट उठेकाे रकममा माैजमस्ती कसरी गरि रहने ,अंझ जनताकाे लागि,जनताद्वारा,जनताकाे सरकार भन्नेहरु सिन्काे नभाँच्ने राजनेता ( गु पार्ने साँचा ) हरु त सत्तामा टाँसिन र सत्ताबाट बाहिरिनु परे पनि आजीवन जनताकाे करबाट जम्मा हुने राष्ट्रकाे ढुकुटी माथि माैज मस्ती कसरी गरिरहने भनि संसदबाट बिल पास गराउछन् । जस्ताे सुकै विचार र दलसंग साँठगाँठ गर्न पनि लाजै मान्दैनन् । राष्ट्रकाे ढुकुटी लुटेर मात्रै नपुगेर ब्यापारी काखीयाप्ने, भ्रष्टाचार, कमिशन, तस्करी, घुस, लुट, अनुदान, रेमिटेन्सले अनि जनतालाई नक्कली शरणार्थी बनाइ बेचेर पनि नपुगेर नदिनाला, उद्याेगधन्दा पनि बेच्दै राष्ट्रियता, सार्वभाैमिकता, राष्ट्रिय धर्म र संस्कार पनि बेचेर यिनकाे भुँडी अंझै नभरिएकाे कारण देशकाे अस्तित्व मेटिने गरि लाधिएकाे वर्तमान सत्तालाई लुछिचुडी खाने यी हजाराैं हुँडारहरुलाई महाराजा बनाएर देश टाट पल्टिने गरि पाल्नु भन्दा फाल्नै जाति छ।
बरु हजाराैं केन्द्रीय, प्रान्तीय र स्थानीय महाराजा पाल्नु भन्दा एउटै राजा ठिक छ भन्न जनतालाई बाध्य बनाउने यिनै गणतन्त्रवादीकाे व्यवहार र कार्यशैली हाे । प्रकृतिकाे नियम मान्ने हाे भने कुनै पनि परिवर्तन भनेकाे अग्रगामी हुनु पर्छ पश्चगामी त हुनै सक्दैन तर याे सतिले सरापेकाे देश कहलिएकाे कारण यहाँ राजनीतिकाे गाडी ब्याक गिअरमा पछाडी दाैडाउने प्रयास गरिदै छ यसकाे मुल कारण वास्तवमा खासै अरु केही नभएर याे देश निर्माण गर्ने शक्ति,याे देश हालसम्म बचाइ राख्न सक्ने शक्ति, याे देशलाई वास्तवमा माया गर्ने शक्तिकाे उपस्थितिलाई बुझ्न नसकेर हाे कि सत्ताकाे मात लागेर हाे त्याे शक्तिलाई फिटिक्कै सहन नसक्ने, उसकाे राजनीतिमा उपस्थिति नदेखिदा पनि उसकाे छायासंग डराएर बाैलाउन थालेकाे देख्दा,अत्तालिएकाे देख्दा जनताले अब यिनीहरु याे देश हाँक्न सक्दैनन् । देश जसले निर्माण गर्याेे उसैकाे वंशजले मात्रै याे राष्ट्र बचाउन सक्छ भन्ने मान्यतामा आम नागरिकले महसुस गरेकाे देखिन्छ तर राजा आउ देश बचाउ भन्नेहरु पनि नारा र एजेन्डा एउटै बाेके पनि सबैकाे पारा भिन्नाभिन्नै छ ।
नारा एउटै पारा हजाराैं । राप्रपाका दुइटा गुटकाे ढफली आआफ्नै छ, प्रसाइकाे आफ्नै छ, बिष्टकाे आफ्नै छ । अन्य गुट उपगुट छुटपुट सबैले ढफली आआफ्नै पाराले बजाउदै छन् र आँखिर तिनीहरु सबै एउटै दुलाेमा छिर्ने हल्ला गरे पनि र त्यसै दुलाेमा सुवेदी, गुरुङ् लगायत एबीसीडी पनि छिर्ने रडाकाे मच्चाउन थाले भाँड भैलाे त हुने नै भयाे, याे राष्ट्र र यहाँका शान्ति प्रिय जनतालाई नफापेकाे लाधिएकाे संघीय गणतन्त्र र त्याे गणतन्त्र उडाउने पाइलटहरु टाेटली असफल भै सक्दा पनि याे आयातित लाधिएकाे व्यवस्था फालेर अवस्था बदल्ने स्वर्णिम अवसर प्राप्त गरि सकेकाे वातावरण यस्तै भाँडभैलाेकाे नारा एउटै पारा अनेककाे भिडमा हरायाे जस्ताे छ । आज पुरै विश्वमा धार्मिक युद्ध, जातीय युद्ध, बारुद युद्ध, रसायन युद्ध एकातिर संसारभरि चल्दै आएकाे वेला अर्काे युद्ध कर युद्ध फेरि थपिएकाे छ भने नेपालमा वादी युद्ध वार पारकाे अवस्थामा पुगेकाे छ । अब याे देशमा राजावादी सत्तामा जबरजस्ती सत्ता हत्याउन सफल हुन् या गणतन्त्रवादी सत्तामा जुँका जस्तै टाँसी रहन सकुन यिनीहरुमा समझदारी र सहमति भएर मिलेर एउटा निकास निकाल्ने प्रयास नगरेसम्म कुनै पनि दल वा वादीहरु एउटा सिन्काे पनि भाँच्न सक्लान भन्ने विश्वास गर्ने ठाँउ कतै देखिन्न ।
अवस्था र व्यवस्था त वैदिक साम्यवाद देखि नै बदलिदै या परिवर्तन गरिदै आएकाे हजाराैंहजार बर्ष भै सकेकाे छ खाेइ त साम्राज्यवादी, विस्तारवादी, दलाली गर्ने राजनीतिक विचारमा परिवर्तन आएकाे । पाैराणिक काल देखि नै भाइले भाइ मार्ने, भाइले भाइबाटै सत्ता खाेसेर कब्जा गर्ने सिस्टममा रत्तीभर पनि फरक आएकाे अहिलेसम्मकाे इतिहाँस काेट्याउदा कतै देखिन्न । त्यसैले साँच्चै अहिलेकाे राजनीतिज्ञ या राजनीतिक दलहरुमा राष्ट्रमा सुशासन, समृद्ध, सुव्यवस्थित राज्य सत्ता कायम गर्ने चाहना छ भने अवस्था र व्यवस्था परिवर्तनकाे राज्यसत्ताकाे उत्पत्ती देखिकै याे नारा बाेकेर हिड्न छाेड्न सक्नु पर्छ याे नाराले अहिलेसम्म खासै न कुनै परिवर्तन भएकाे छ न हुने वाला छ । अब परिवर्तन प्रेमी राजनीतिज्ञ, राजनीतिक दल र जनता सबैले आफु भित्र जडा गाडी बसेकाे सामन्ती साेच बदल्न जरुरी छ ? व्यवस्था र अवस्थामा परिवर्तन ल्याउन विचार बदल्न जरुरीछ । अवस्था र व्यवस्था हाेइन केवल विचार मात्र बदलाैं संसार आफै बदलिन्छ ।