विराटनगर । विगत ६ महिनादेखि नेपाल भारतको मुख्य सीमाना सिल गरिएको छ । कोरोना संक्रमण र नियन्त्रणको लागि सीमाना लक गरिएको हो ।
सीमाना नजिकैका स्थानीयहरु भने खुल्ला सीमानाको फाइदा उठाउँदै चोरबाटोबाट आवत जावत गर्न भने छोडेका छैनन् । खुल्लारुपमा आवत जावतमा कढाई गर्न र तस्करी रोक्नको लागि मोरङ प्रहरीले सीमानामा थप जनसक्ति परिचालन गरेको मोरङ प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिएका छन् । उनले सीमामा हुने अपराधलाई नियन्त्रण गर्ने र लुकिछिपि, मल, सुर्ति साथै किरानाका सामान ओसारपसार भइरहेको भन्ने गुनासो आएपछि थप कढाइ गर्न जनसक्ति थप गरिएको बताएका छन् । उनले सीमानामा नेपाल प्रहरीका ३१ वटा युनिटमा ३७० प्रहरी खटाइएकोमा आइतबारदेखि १ सय सुरक्षाकर्मी थप गरिएको जानकारी दिएका छन् ।
भारतसँग सीमा जोडिएको मोरङको करिब ६३ किलोमिटर खुला सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ हजार ७० सुरक्षा कर्मीहरु खटाइएको छ । सशस्त्र प्रहरीको विओपि र फरवाड पोष्ट गरी २३ वटा पोष्टमा ६ सय सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी बल ३ नं. गण कंकालिनी मोरङका शसस्त्र प्रहरी उपरिक्षक तीर्थराज पौडेलले जानकारी दिए ।