सोलुखुम्बु, । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेवल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि सगरमाथा क्षेत्र जोड्ने हुंगरा राखोला मोटरेवल पुल र त्रिवेनी मोटरेवल पुलको निर्माण कार्य ८०/८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भटराईले सङ्घ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा हुंगरा राखोला मोटरेवल पुल र त्रिवेनी मोटरेवल पुलको निर्माण कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई वटा पुल निर्माणका लागि एकमुस्ट नौ करोडमा ठेक्का सम्झौता भइ निर्माण भइरहेको छ । हुंगरा राखोला मोटरेवल पुल निर्माणका लागि सङ्घीय अनुदान र गाउँपालिकाको अनुदान रकम रहेको छ भने त्रिवेनी मोटरेवल पुलका लागि गाउँपालिकाको अनुदान रकम र प्रदेशको समपूरक अनुदानबाट निर्माण भइरहेको छ ।