काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नर्कतिर गएको बताएका छन् । समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार गरेको जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष कांग्रेससँगको गठबन्धनका क्रममा ओली र आफूबिच भएको स्वर्ग र नर्कको प्रसङ्ग कोट्याउँदै प्रचण्डले ओली नर्क गएको र आफू स्वर्गतिर जान प्रेरित गरेकाले त्यस अर्थमा केपी ओलीलाई धन्यवाद दिए ।
‘अघि माधवजीले स्वर्ग र नर्कको कुरा गर्नुभयो । तर बुझाई त्यो होइन । उनी नर्कतिर गए मलाई र हाम्रो आन्दोलनलाई जनतातिर फर्काउन प्रेरित गरे त्यस अर्थमा केपी ओलीलाई धन्यवाद छ’ प्रचण्डको भनाइ छ । प्रचण्डले ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने भन्दै अहिले पनि उनले उल्टाउल्टो गरिरहेको बताए । उनले कुलमानलाई हटाउनु ओली प्रवृत्ति भएको भन्दै कुशासन र सुशासनको लडाई भइरहेको बताए ।
प्रचण्डले गणतन्त्र र शान्ति सम्झौतामा सँगै हिँडेका दलहरूलाई छातीमा हात राखेर आत्मसमीक्षा गर्न सुझाव दिए । ‘म यो मञ्चबाट फेरि पनि आत्मसमीक्षा गर्न, हामी कहाँ पुगियो ? जनतामा किन आक्रोश पैदा भएको छ ? र आफूलाई लोकतान्त्रिक मूल्यमान्यतातिर फर्कन आह्वान गर्दछु ।’