ललितपुर महानगरका अधिकांश ठाउँमा नेवार समुदायको बाक्लो
बस्ती छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीयसँग प्रत्यक्ष
कुरा गर्न सहज हुने भएकाले नगर प्रहरीलाई भाषा सिकाउने निर्णय गरेका हुन् ।
नेपाल भाषा (नेवाःभाय्) जानेमा नगर प्रहरीको
कार्यसम्पादनमा सहज हुने दाबी गरिएको छ । ‘भाषा
नजानेका प्रहरीसँग स्थानीय भाषाको ज्ञान भएमा कतिपय कुराको पूर्व जानकारी लिन पनि
सहज हुन्छ,’ नगर प्रहरी प्रमुख हाछेथु
भन्छन्–‘हामीले नेपाल भाषाको आधारभूत
कुराहरू सिकाइरहेका छौँ ।’
महानगपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगर प्रहरीलाई
दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम दिइने हाछेथुले जानकारी दिए । ललितपुर महानगरपालिमा कूल ७८ नगर प्रहरी कार्यरत छन् । यो मध्ये २९ सँग नेपाल
भाषाको जानकारी पहिले नै रहँदा प्रशिक्षणमा सहभागी नगराइएको महानगरपालिकाले
जानकारी गराएको छ । ललितपुर महानगरपालिकामा रहेको नेवा स्यानेगुठी
प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रशिक्षार्थीहरूलाई
भाषा सिकाइरहेका छन् । भाषा प्रशिक्षण असोज ३ सम्म चल्नेछ ।
नगर प्रहरीले नेपाल भाषा बोलेमा समुदायलाई पनि अपनत्वको
भाव विकास हुने र कामकाजमा सहजता आउने विश्वास गरिएको छ । ललितपुरको पाटन, गावाहल, खोकना, हरिसिद्धि, बंगलामुखी, मंगलबजार, सुन्धारा, गाःबहाल र बुङ्गमती लगायतका ठाउँका पुरानो नेवारी
बस्तीमा भाषाकै कारण कतिपय समस्या समाधानमा असहजता सिर्जना हुने गरेको नगर प्रहरी
प्रमुख हाछेथुले बताए ।