दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग

7.4k Shares

काठमाडौँ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ । 

सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्नुभयो । “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उहाँले भन्नुभयो, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।”

सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय विभेदजस्तो जघन्य अपराध गर्नुले नेपाली समाजको चेतनाको धरातल उदाङ्गो पारिदिएको बताउनुभयो । सो घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि पीडित परिवारले अझै असुरक्षित महसुस गरिरहेको जनाउँदै उहाँले सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलितको घरमा डोजर लगाउनु आपाराधिक कार्य भएको बताउँदै सो घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । सांसद विश्वकर्माले पालिका अध्यक्षलाई तत्काल पदच्यूत गरेर कथित बजरङ्गी बाबालाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सम्बन्धित समाचार