बन्दीपुरमा झण्डै चार अर्बको लगानीमा बन्यो पाँचतारे होटल

8.8k Shares

तनहुँ । तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै लगानी थपिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन् । 

यसैक्रममा यहाँ झण्डै चार अर्बको लगानीमा जिल्लाकै पहिलो पाँच तारे होटेल ‘क्विन टावर’ निर्माण गरिएको छ । आगामी जेठ देखि सञ्चालनमा ल्याउने तयारी भईरहेको महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिनुभयो । पाँच तारे होटलको निर्माण पुरा भईसकेको सजावटका कामहरु बाँकी रहेका छन् ।

बन्दीपुर केबुलकारको माथिल्लो स्टेशन बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटल १७ तलाको रहेको छ । सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमश्रृङ्खला र हरियालीफाँटहरु, जङ्गलहरु नागबेली नदीहरुको दृश्यावलोकन गर्न सकिन्छ । बन्दीपुर हिल अन्तर्गत केबलकारसँगै होटलका साथै प्याकेजका रूपमा र्‍याफ्फ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङ लगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको श्रेष्ठले बताउनुभयो । 

महाप्रबन्धक श्रेष्ठका अनुसार यस होटलमा ८० कोठा रहने छन् । परियोजनाले केबुलकारको तल्लो स्टेशनमा तीन अर्ब ८३ करोड लगानी गरिसकेको छ । परियोजनाको कुल लागत छ सय २९ करोडमध्ये करिब चार सय ३३ करोड बराबरको काम सम्पन्न भईसकेको छ ।  

रेशमी खेती, बाख्रा पालन मौरीपालनसँगै समुदायको विकासका लागि बन्दीपुर हिललाई सामूहिक उद्यमी क्षेत्रमा नमूना बनाइँदैछ । बन्दीपुर–४ ठुलढुङ्गाा स्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा पार्क सहित होटल निर्माण गरिएको छ । एक हजार छ सय १६ मिटर लामो दुरी केबुलकारबाट सात मिनेटमा पार गर्न सकिने बन्दीपुर हिलले जनाएको छ । बन्दीपुर हिलमा हाल एक सय २० जना कर्मचारी कार्यरत छन् । 

यस परियोजनालाई नेपालकै गौरवको रुपमा लिइएको छ । नेपालकै पहिलो टियूभी प्रमाणपत्र प्राप्त गरिसकेको छ । टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो । विसं २०८१ जेठ ३१ गतेबाट व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याइएको हो । बच्चादेखि ज्येष्ठ नागरिकसम्मका लागि लक्षित गरी परियोजना बनेको सो कम्पनीले जनाएको छ ।

लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, ९टियुभी सर्टिफिकेट० प्राप्त भएको छ । वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुला हुने बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरमा अब हरेक दिन दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 

यसअघि नै केबलकारको तल्लो स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट (ड्राइभ इन) सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै तल्लो स्टेशनमा जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा ल्याइएको छ । 

समग्र बन्दीपुर हिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेको सो परियोजनाले जनाएको छ ।

सम्बन्धित समाचार