देशका विभिन्न ठाउँमा साहित्यिक उत्सव

7.5k Shares

काठमाण्डौ – देशका विभिन्न ठाउँमा साहित्यिक उत्सव भइरहेका छन् । यी उत्सवहरुमा कला, साहित्यसँगै समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल हुने गरेका छन् ।

पोखरामा हिजोदेखि १२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल शुरू भएको छ । पोखराको बाराहीघाट,लेकसाइडमा भइरहेको फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट रहेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

यस्तै धादिङको सदरमुकाम धादिङबेसीमा बागमती महोत्सव शुरू भएको छ । आज र भोलि हुने महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

यसैगरी पहिलो संस्करणको ‘काठमाण्डौ उत्सव’ काठमाण्डौमा शुरू भएको छ । भोलिसम्म नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने उत्सवमा साहित्यसँगै काठमाण्डौ संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिने काठमाण्डौ उत्सवका अध्यक्ष प्रकाश समीरले बताउनुभयो ।

झापाको मेचीनगरमा अस्ति १४ गतेदेखि शुरू भएको ‘कला साहित्य उत्सव आज सकिँदैछ । यस वर्षको उत्सव ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित छ ।

रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना भएको हो ।

बर्दियाको राजापुरमा हिजोदेखि शुरू भएको ९औं थारु साहित्य सम्मेलन भोलिसम्म चल्नेछ । थारु लेखक सङ्घ नेपाल र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

यस्तै विश्वको ५ औं अग्लो हिमाल मकालु आरोहणको ७०औं वर्षगाँठको अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव भइरहेको छ ।

अस्ति १४ गतेदेखि नुम बजारमा शुरू भएको महोत्सव भोलिसम्म चल्नेछ । मकालु गाउँपालिकाको आयोजना र मकालु साहित्यिक समाजको संयोजनमा भइरहेको महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र भुटानका स्रष्टाहरुको सहभागिता छ ।

आउँदो २४ गतेदेखि २६ गतेसम्म टीकापुर साहित्य महोत्सव हुँदैछ ।  यसअघि माघ अन्तिम हप्ता जनकपुरमा ‘धरातल, संस्कृति र संस्कारको उत्सव’विषयमा जनकपुर साहित्य महोत्सवको ६औं संस्करण भएको थियो ।

सम्बन्धित समाचार