ग्यास आयात वृद्धि

9.2k Shares

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ । सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । 

गत वर्ष सो अवधिमा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपियाँ बराबरको दुई लाख ९८ हजार ९७५ मेट्रिक टन आयात भएको थियो । गत वर्षको तुलनामा पाँच अर्ब रुपियाँ बराबरको १६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातमा वृद्धि भएको हो । 

नेपाल आयल निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ । सोही कोटा अनुसार व्यवसायीले ग्यास आयात गर्दै आएका छन् । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चिसो मौसममा बजारमा ग्यासको खपत धेरै हुँदा आयातमा समेत वृद्धि भएको जानकारी दिनुभयो । पछिल्लो समय गाउँ गाउँमा समेत ग्यासको प्रयोग हुन थालेपछि खपत बढ्दै गएको छ । मुलुकभर ४४ प्रतिशत घरधुरीमा ग्यासको प्रयोग हुने गर्छ । 

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले चिसोमा ग्यासको खपत १० देखि १५ प्रतिशतले बढ्ने गरेको जानकारी दिनुभयो । गर्मी मौसमको तुलनामा चिसो मौसममा ग्यासको खपत धेरै हुने हुँदा ग्यासको आयातमा समेत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार