नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप, विवादित प्रहरीले बाजी मार्दै

18k Shares

काठमाडौैं । राजनीतिक हस्तक्षेप प्रत्यक्षरुपमा पछिल्लो समय नेपाल प्रहरीमा देखिएको छ । सर्वसाधारण जनतासँग प्रत्यक्ष सरोकार राखी कार्य गर्दै आइरहेको नेपाल प्रहरीको नियमित सरुवा बढुवामा राजनीतिक हस्तक्षेप भएका कारण गृह मन्त्रालयले काज सरुवा गर्न थालेको छ । 

गत शनिबार सर्लाही र धनुषाका एसपी फेरियो, आइतबार काठमाडौंको मुटु मानिने दरबारबार वृत्त र इप्रका बुटवलका इन्चार्ज फेरिए । यी सबै कार्यालयको इन्चार्जमा आउनका लागि ठूलो लबिङ हुने गर्छ । तर, यस्ता कार्यालयमा सरुवा भई बाजी मार्ने प्रहरी अधिकारीको अनुहार देखेपछि प्रहरी मुख्यालयमा नैराश्यता छाएको छ । किनकी विवादास्पद पात्रले त्यसमा बाजी मारेका छन् । सर्लाहीमा एसपी कृष्ण प्रसाईलाई पठाइएको छ । डिएसपीमा हुँदा उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको थियो । त्यस्तै दरबारमार्ग वृत्तमा अर्का विवादास्पद डिएसपी विश्वराज खड्कालाई पठाइएको छ ।

डिएसपी खड्का यसअघि पटक—पटक कारबाहीमा परेका थिए । ललितपुर परिसर हुँदा एक लाखघुस काण्डमा मुछिएका थिए । इप्रका गजुरीमा हुँदा पनि आर्थिक लेनदेनका कारण उनलाई हटाइएको थियो । त्यतिबेला कारबाही स्वरुप आफैंले हटाएका डिएसपीलाई अहिले दरबारमार्ग वृत्तमा पठाएर प्रहरी महानिरीक्षक शैलेश थापा आलोचित बनेका छन् । गृहमन्त्रीबाटै दबाब आएपछि उनको सरुवा गरिएको स्रोत बताउँछ । खड्का गुप्तचरबाट प्रहरीमा आएका अधिकृत हुन् ।

पछिल्लो समय प्रहरीमा गुप्तचर टोलीकै दबदबा छ । उनीहरुले सरुवामा प्राथमिकता मात्र पाएका छैनन्, आफूअनुकुल दरबन्दी थप्ने प्रयास समेत गरिरहेका छन् ।

हाल ११ जिल्लामा एसएसपी खटाउने भन्दै उनीहरुले नै शक्ति केन्द्रमा धाउँदै दरबन्दी थप्न लागि परेका छन् । त्यसमा आफू बढुवा हुने र ठूला जिल्लामा इन्चार्ज भएर पैसा कमाउने उनीहरुको योजना छ । उनीहरुको योजना सफल भएमा नेपाल प्रहरीमा २० वर्ष पछाडि धकेलिने पूर्व प्रहरी अधिकारीहरुले बताउने गरेका छन् । जबसम्म नेपाल प्रहरीको हरेक गतिविधिमा राजनीतिक हस्तक्षेप हुन्छ तबसम्म निष्पक्षरुपमा नेपाली जनताले शान्ति सुरक्षाको अनुभुति गर्न नपाउने र राजनीतिक कार्यकर्ताको मात्र हावी हुने देखिन्छ । 


सम्बन्धित समाचार