३८ वर्ष पुरानो भ्रष्टाचार मुद्दा विशेष अदालतबाट फैसला

8.3k Shares

काठमाडौं । विशेष अदालतले करिब ३८ वर्ष पुरानो खाद्य संस्थानको भ्रष्टाचार मुद्दा टुंग्याएको छ । खाद्य संस्थानले रोल्पामा उसिना मोटा चामल बिक्री गर्दा प्राप्त पैसा हिनामिना भएको भ्रष्टाचार मुद्दा ३८ वर्षपछि टुंगो लागेको हो ।

जिल्ला अदालत रोल्पाले आफ्नो क्षेत्राधिकार नभएको भन्दै विशेष अदालतमा पठाएको रोल्पा खाद्य संस्थानको भ्रष्टाचार मुद्दामा डिपोका प्रमुख छविलाल केसी दोषी ठहरसमेत गरेको छ । २०४३ सालमा विशेष प्रहरी विभागले रोल्पा जिल्ला अदालतमा खाद्य संस्थानको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले छविलाल केसीले खाद्य संस्थानको रकम लापरबाही र बदनियतपूर्वक हिनामिना गरेर हानिनोक्सानी पु-याएको देखिएको भन्दै डिपो प्रमुख केसीलाई दोषी ठहर गरेको छ । अदालतले ३ हजार ७ सय ३० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।

विशेष अदालतले उनीबाट असुल हुने रकम अहिलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा बुझाउनू भनी आदेश गरेको छ । खाद्य संस्थान अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा रूपान्तरण भएको छ । अनि, डिपो प्रमुख केसीबाट त्यति नै रकम जरिमाना भराउनुपर्ने आदेश भएको छ । विशेष अदालतले प्रेमनाथ योगीलाई भने सफाइ दिएको छ । फैसलामा भनिएको छ, ‘आफू बिदामा बस्दा अर्को कर्मचारीलाई दायित्व जिम्मा सारी सदनियतले कार्य गरेको स्थितिमा आफैंले रकम लिए, खाए वा नमासेसम्म कसुरदार ठहर गर्न न्यायोचित हुँदैन ।’

विशेष अदालतले १६ माघ २०८० मा मुद्दाको फैसला गरेको हो । त्यसको पूर्णपाठ हालै सार्वजनिक भएको छ । विशेष अदालले फैसलामा भनेको छ, ‘विवादको रकम दाखिला नगरी हिनामिना गरेको भन्ने आधारमा प्रतिवादी छविलाल केसीले आरोप दाबीबमोजिमको कसुर गरेको ठहर भएको छ ।’

२०१७ सालको भ्रष्टाचार निवारण ऐनअनुसार उनलाई १ वर्ष कैद हुने अवस्था थियो । तर, २०५९ सालमा जारी भएको नयाँ ऐनमा २५ हजार रुपैयाँसम्मको भ्रष्टाचारमा तीन महिना मात्रै कैदको व्यवस्था छ । संशोधित कानुनमा सजायको मात्रा कम रहेको भन्दै विशेष अदालतले केसीलाई तीन महिना कैद सजाय हुने फैसला सुनायो ।

नेपाल खाद्य संस्थानको रोल्पा उपशाखाले चामलको रकम हिनामिना भएको भनी विशेष प्रहरी विभागमा जाहेरी दिएको थियो । विशेष प्रहरी विभागले खाद्य संस्थानको चामल बेचेको रकम हिनामिना भएको आरोपमा २०४३ सालमा जिल्ला अदालत रोल्पामा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल खाद्य संस्थानको सुलिचौर डिपोले २०४३ मा प्रतिक्विन्टल ५७० रुपैयाँका दरले साढे ६ क्विन्टल चामल बिक्री गरेको थियो । चामल बिक्रीबापत डिपोले ३ हजार ७ सय ५ रुपैयाँ आम्दानी गरेको थियो । त्यतिबेला नेपाल खाद्य संस्थानका सुलिचौर डिपोका प्रमुख छविलाल केसी थिए भने बैतडीका प्रेमनाथ योगी क्लर्कको रूपमा काम गर्थे । चामल बिक्रीपछि क्लर्क योगीले ५ रुपैयाँका दरले पाँचवटा जुटको बोरा बेचेर थप २५ रुपैयाँ आम्दानी गरेका थिए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार