मोरङ, ३ कातिक । अविरल भारी वर्षाका कारण जलमग्न विराटनगर विमानस्थल बन्द भएपछि भद्रपुरमा उडान थप गरिएको छ । अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थलले भोलि साँझ ५ बजेसम्म उडान नहुने जनाएको छ ।
योसँगै यति एयरलाइन्स र बुद्ध एयरले भद्रपुरमा थप उडान गरेका हुन् । बुद्ध एयरले भद्रपुरमा दैनिक ५ उडान गर्दै आएकोमा अब ७ उडान गर्ने भएको हो । यति एयरलाइन्सले पनि भद्रपुरमा थप २ उडान गरिएको जनाएको छ ।
भारी वर्षाको कारण मंगलबार दुर्गमका विमानस्थल अवरुद्ध भए पनि बुधबारबाट सञ्चालनमा आएका छन् । यति एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले दुर्गममा उडान सुरु भएको जनाएको छ ।
‘हिजो धेरै ठाउँमा अवरुद्ध रहेको थियो । आज लुक्ला, जोमसोम, सुदूरपश्चिमका विमानस्थलमा नियमित उडान भइरहेको छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणले पानीले उपकरण भिजेकाले भोलिसम्म उडान नहुने जानकारी दिएको छ ।