कुमारी सहकारीमा बचतकर्तालाई प्रमाणसहित निवेदन गर्न आह्वान

9k Shares

म्याग्दी । आर्थिक अपचलन भएको भन्दै पाँच जनालई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीले निवेदन दिन आह्वान गरेको छ ।

सहकारी संस्थाका पूर्व सञ्चाकसमिति तथा पूर्व व्यवस्थापकलाई समेत गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासवुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्रलगायतका प्रमाणको सक्कलसहित निवेदन दिन सूचना गरेको छ । बचतकर्ताहरुलाई आफ्नो रकम जम्मा गरेका प्रमाणको सक्कल प्रतिसहित नै प्रहरी कार्यालयमा उपस्थितिका लागि आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले माघ २० गते संस्थाका पूर्व अध्यक्ष रघुगंग गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापालाई गिरफ्तार गरेको थियो । सोही दिन नै अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थमबहादुर गर्बुजा, संस्थाका पूर्व व्यवस्थापक (प्रबन्धक) पर्वत लेखफाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षीय देवी कुमारी थापालाई गिरफ्तार गरेको थियो ।

सहकारीका वर्तमान तथा पूर्व पदाधिकारीहरुले आर्थिक अपचलन गरेको भन्दै गएको माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले सहकारी संस्थामा रहेका प्रमाणहरु दुरुपयोग हुन सक्ने आशङ्कासहित माघ २३ गते सहकारी सिल गरेको थियो । साथै २१ माघकै मितिमा प्रहरीले सहकारीका पीडितहरुलाई निवेदन दिन समेत आह्वान गरेको छ ।

सम्बन्धित समाचार