रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कर्यालय, रुपन्देहीले सवारी दुर्घटना न्यूनीकरण अभियानका साथ राजश्व सङ्कलन कार्यलाई पनि तिव्रता दिएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बढाउँदै आएको रुपन्देही ट्राफिकले राजश्व सङ्कलनलाई पनि सँगसँगै अगाडि बढाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले आर्थिक वर्ष २०८१-०८२ को पुस मसान्तसम्म २ करोड ४० लाख २६ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा सवारी नियम उल्लङ्घन गर्ने १७ हजार ३२७ सवारीसाधनलाई कारबाही गर्दै उक्त राजश्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षको पुष मसान्तसम्म २ करोड २ लाख ३४ हजार राजश्व सङ्कलन गरेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ करोड ४० लाख २६ हजार रुपियाँ राजश्व सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्षको तुलनामा ३७ लाख बढी राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कर्यालय, रुपन्देहीका प्रमुख, प्रहरी निरिक्षक रञ्जु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्षको ६ महिनामा सङ्कलन भएको राजश्व गत बर्षको ६ महिनाको भन्दा १९ प्रतिशतले बढी हो ।