काठमाडाैँ । चियापसलका नौला नाम र फरकफरक स्वादमा आकर्षण बढेसँगै चिया व्यवसाय पनि फस्टाएको छ । शहरबजारका ठाउँठाउँमा खुल्न थालेका व्यवसायिक चिया पसलले धेरैलाई रोजगारी दिएको छ । ललितपुरको जावलाखेमा चर्चित ‘वावा कुकर कफी’ पसल छ । पसलभित्र छिर्नेबित्तिकै तातो कफीको वाफ र बास्ना आउँछ । पसलको एक कुनामा दिपेश बोटे कुकरमा कफी उमाल्दै हुनु हुन्छ ।
कुकरमा उम्लिएको कफीलाई सावधानीपूर्वक चिटिक्कका गिलासहरुमा खन्याउँदै दिपेश ग्राहकहरुको टेबलसम्म मुस्कानसहित कफी पुर्याउनु हुन्छ । कफी पसलको यो कामले दिपेशलाई आफैँ केही गर्ने आत्मविश्वास पनि दिएको छ ।
तनहुँको व्यास नगरपालिका घर भएका १९ वर्षका दिपेशले १० कक्षासम्म पढ्नु भएको छ । घरको कमजोर आर्थिक अवस्थाका कारण उहाँले पढाइलाई निरन्तरता दिन सक्नु भएन । तीन महिनाअघि उहाँ काठमाण्डौ आउनु भयो । नयाँ शहरमा भविष्य खोज्न सङ्घर्ष गर्न थाल्नु भयो । गाउँको परिवेश छोडेर ठूला घर र भीडभाडले भरिएको शहरमा शुरूवाती दिनमा काम नपाउँदा निकै कष्ट भोग्नुभयो ।
काम खोज्दै जाँदा उहाँलाई जावलाखेलको ‘बाबा कुकर कफी’ पसलमा काम गर्ने मौका मिल्यो । अहिले दुई महिनादेखि यहीँ काम गरिरहनु भएको छ । शुरूका केही दिन सामान्य काम गर्दै बिते । बिस्तारै उहाँले नयाँ कुरा सिक्न थाल्नु भयो । कफी बनाउने कला मात्रै होइन, ग्राहकहरुसँग कसरी बोलेर मन जित्ने भन्ने कुरा पनि सिक्नुभएको छ । कफी पसलमा काम गर्दै जाँदा उहाँको आत्मविश्वास र सीप दुवै बढेको छ । कुकर कफी, हट चकलेट कफी, कोल्ड कफी लगायत बनाउन खप्पिस भैसक्नु भएको छ ।
मासिक १५ हजार तलब, निःशुल्क खाने बस्ने सुविधा, अनि हप्तामा एक दिन मनोरञ्जनको व्यवस्था । यस्तो अवसरले सधैँका लागि ठूला सपनाहरु त देखाउन नसक्ला, तर दिपेशका लागि भने यही कामले जीवनलाई अघि बढाउने आधार दिएको छ ।