शीतसँगै चुहिन्छन् भूकम्पपीडितका आँसु

10.7k Shares

रुकुमपश्चिम । माघको कठ्याङ्ग्रिँदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेटो । घरवासविहीन भूकम्पपीडित परिवारलाई ओत लगाउन जस्तापाता, काठ बेरेर बनाइएका अस्थायी टहरा । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित दोस्रो हिउँदमा पनि यिनै टहरामा दयनीय अवस्थामा बसेका छन् । 

गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङ्ग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडित यो जाडोमा पनि टहराभित्रै छन् । टहरामा कठ्याङ्ग्रिएका मात्रै छैनन्, छानाको शीतसँगै आँखाबाट आँसु चुहाउन बाध्य छन् । आठबिसकोट नगरपालिका–१३ का नारायण खड्काले छानाबाट तप तप शीत चुहिने गरेको बताउनुभयो । खड्काले भन्नुभयो, “विपत्ति पनि गरिबकै घरमा आयो । शीतले सिरक र आँसुले सिरानी भिज्ने गरेको छ ।” चिसोकै कारण बिहानपल्ट आँखा सुन्निने, ओढेको सिरक भिज्ने गरेको खड्काले जानकारी दिनुभयो । 

जाजरकोटको नलगाड नगरपालिका–१, ठुलाबगरकी सावित्री रानाले भूकम्पका कारण घरमा च्यापिएकी नाबालिका छोरीको साथमा माइतीमै बस्दै आएको र आफ्नो शरीर सग्लो नरहेको बताउनुभयो । भूकम्पमा घाइते भएपछि माइतीको टहरामा सहारा लिएकी रानाले बुढा बाआमा र नाबालिका छोरीको लालनपालन रेखदेख गर्नुपर्ने जिम्मेवारीले आफ्नो स्वास्थ्य उपचार नै गर्न नपाएको जनाउनुभयो । भूकम्पले परिवार नै तहसनहस पारेकाले ‘कता जाउँ र के गरौँ’ को अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो । 

नलगाड नगरपालिका–१, कल्पतका जनक नेपालीले भूकम्पपीडितका पीडा झन् थपिँदै गएको उल्लेख गर्नुभयो । नेपालीले भन्नुभयो, “भूकम्पमा घाइते हुँदा गतिलो उपचार पाइनँ, ज्यान आधा छ, घरमा अन्नको दाना छैन, उब्जनीले तीन महिनाभन्दा बढी खाना पुग्दैन । घरमूली कालापहाड जाँदा घरको टहरामा बालबच्चा र ज्येष्ठ नागरिकको बिचल्ली हुने अवस्था छ ।” उहाँले ज्येष्ठ नागरिक र बालबच्चालाई चिसोबाट जोगाउन चुनौती रहेको जनाउनुभयो । आगो बाल्नलाई घरबाहिर सिरेठोले नमिल्ने र टहराभित्र ठाउँकै अभाव हुने गरेको छ । आठबिसकोट नगरपालिका–१४ का वडाध्यक्ष हुकुमबहादुर पुनले टहराको बसाइँ थप जोखिम बन्दै गइरहेको बताउनुभयो । उहाँले आफ्नो परिवार पनि अस्थायी टहरामै बस्ने गरेको, छानाबाट शीत चुहिने र बिहान उठ्दा सिरक भिज्ने गरेको जनाउनुभयो । टहराको शीतसँगै विपत्को पीडाले जनताका आँसु पनि झर्ने गरेको वडाध्यक्ष पुनको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार