विषयवस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए : काठमाण्डाै महानगर

8.3k Shares

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरले राजस्व बाँडफाँटको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी गरेको टिप्पणी भनेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरले मन्त्री लामिछानेले सहयोग गर्नेभन्दा पनि एकतर्फी रूपमा लाञ्छना लगाएको बताएको हो ।

हिजो एक कार्यक्रममा बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लामिछाने काठमाण्डौ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको बताउनुभएको थियो । कार्यक्रममा मन्त्री लामिछानेले काठमाण्डौ महानगरपालिकाले राजस्व प्रदेश सरकारलाई बुझाउनुपर्ने भए पनि अहिलेसम्म नबुझाएको र बजेट चाहिएपछि प्रदेश सरकारसँग बजेट माग्नेभन्दा बाहेक अरू कुरामा कहिले पनि समन्वय नभएको बताउनुभएको थियो । मन्त्रीको यो भनाइ गैरजिम्मेवार र विषयवस्तुको जानकारी नलिई व्यक्त भएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

महानगरले साउन १ गतेदेखि पुस मसान्तसम्म असूल गरेको विज्ञापन कर र मनोरञ्जन करबापतको रकम अर्धवार्षिक रूपमा पठाउने गरेकोमा यस वर्ष पुस मसान्तसम्म ६० प्रतिशतले हुने रकम स्थानीय सञ्चित कोषमा दाखिला हुने र ४० प्रतिशतले हुने रकम बागमती प्रदेश सञ्चित कोषमा दाखिला गर्ने गरी निर्णय भइसकेको जनाएको छ । निर्णय भइसकेको कुरालाई अतिरञ्जित गरेर मन्त्रीको भनाइ आएको भन्दै महानगरले दुःख व्यक्त गरेको छ ।

सम्बन्धित समाचार