10k
Shares
हेटौंडा बजारक्षेत्रमा हिँडिरहेका दुई महिला लागुऔषध गाँजासहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्ती गर्ने क्रममा १० किलो २७० ग्राम गाँजासहित दुई महिलालाई नियन्त्रणमा लिएको हो। बिहीबार (आज) बिहान ६ बजेतिरको समयमा हेटौंडा–४ नारायणी मल नजिकै सडकमा हिँडिरहेका मकवानपुरको कैलाश गाउँपालिका–५ भैराङकी ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीकी ५१ वर्षीया ज्ञानुमाया गोले पक्राउ परेका हुन्।
झोला बोकेर हिँडिरहेका दुवै महिलालाई शंका गरी खानतलासी गर्ने क्रममा लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।