चिसो बढेसँगै मध्यतराईको जनजीवन कष्टकर

13.5k Shares

बारा। विगत एक सातादेखि अत्यधिक चिसो बढेसँगै मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बाराको सदरमुकाम कलैया आसपासका ठाउँमा बिहानको तापक्रम न्यून रहँदै आएकाले आम नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । 

बिहानको तापक्रम अन्य दिनको तुलनामा एकदम कम रहने गरेको जल तथा मौसमविज्ञान विभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । घाम नलाग्ने तथा पश्चिमी वायुको प्रभावसँगै हावा चल्ने गरेकाले बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको सो कार्यालयका मौसम अवलोकनकर्ता प्रतिष्ठा अधिकारीले बताउनुभयो । 

कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्ने सर्वसाधारणलाई समस्या भएको छ । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ, विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ । 

चिसोलाई छल्न चोकचोकमा सर्वसाधारणले आगो बालेका छन् । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । चिसोले मुसहर, ढांगर, चमार, दुसाध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ । 

पछिल्लो एक साता यता तराईमा घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेकाे छ । बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ, विशेष गरी कोल्ड डायरिया, दम र खोकीको बिरामी बढी देखिएको प्रादेशिक अस्पताल कलैयाका मेडिकल रेकर्डर निरज साहले बताउनुभयो। 

शीतलहर तथा चिसोजन्य विपद् र दैवी प्रकोपबाट प्रभावित हुन सक्ने सङ्कटापन्न परिवारका लागि यस आर्थिक वर्षका जिल्ला विपद् व्यवस्थापन समितिसँग २५ लाख बजेट छ । अस्ति सिमलतारमा भएको दुर्घटमा बाराका छ जना व्यक्ति परेकाले उनीहरुको अभिभावकलाई २-२ लाखको दरले राहत वितरण गरिएको उहाँले बताउनुभयो । 

कुहिरोले गर्दा सवारी दुर्घटना हुने सम्भावना रहेकाले ५० मिटरभन्दा बढी सडक देख्न नसकिने अवस्था सिर्जना भएको छ। कुहिरोका बेला सवारी साधनको गतिलाई सक्दो कम स्पिडमा सवारी चलाउन चालकलाई जानकारी गराउने गरेको सो कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक अशोक बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार