काठमाडौं । अबदेखि ललितपुर पुल्चोकमा ट्राफिक प्रहरीले सिठ्ठी फुकेर हातले इशारा गर्दै गाडी रोक्ने, पठाउने गर्नु नपर्ने भएको छ ।
आज सोमबारदेखि ललितपुरका मुख्य सवारी चाप हुने सडकमा ट्राफिक लाइटले सवारीसाधन संख्या हेरेर रातो र हरियो बत्ती बल्छ । कारण हो– ‘आर्टिफिसियल इन्टिलिजेन्स’ जडित ट्राफिक लाइट ।
ललितपुर महानगरपालिकाले इन्टिलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइट उद्घाटन गरे ।
महानगरले कुपन्डोलदेखि जावलाखेलसम्म पाँच ठाउँमा यस्ता लाइट जडान गरेको छ । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको सहरी विकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
कसरी चल्छ ?
इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बाल्छन् ।
‘लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधन संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ ,’ ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन्, ‘सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन्, त्यतातिर हरियो बत्ती बाल्छ ।’
कार्यालय समयमा काठमाडौं तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने उनले बताए ।
‘यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सजिलो छ । योसँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ,’ उनले भने, ‘सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैं सेट गर्छ । हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ ।’
ट्राफिक लाइट प्राविधिक सुयोषक्त माथेमाका अनुसार यो लाइट फिक्स, पुलिस म्यानुअल, सिंक्रोनाइजेसन, एटीसीएस लगायत आवश्यकता अनुसार मोडमा प्रयोग गर्न सकिन्छ । यसमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ । यो लाइटले सवारीसाधन र दुर्घटनाको रेकर्ड समेत राख्छ ।