पोखरा । कास्की जिल्ला अदालतबाट अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं लैजाने तयारी भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत दुरूपयोगमा पनि अनुसन्धानका लागि रवि लामिछाने लगायत विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुछिएर पक्राउ पुर्जीसमेत जारी भएका लामिछानेलाई बयान गराएर बुटवलबाट कात्तिक ३० गते पोखरा ल्याइएको थियो ।
अब स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयानका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि रविसहित १० जनाविरुद्ध ७ मंसिरमा पक्राउ अनुमति जारी भएको छ ।
सहकारी समस्याबारे छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले रविको संलग्नता देखाएका र सिफरिस गरेका सबै सहकारीमा उनीविरुद्ध जाहेरी दर्ता हुने र पक्राउ पुर्जी जारी गर्ने क्रम चलिरहेको छ । बुटवलबाट बयान गराएर पोखरा ल्याइएका रविलाई काठमाडौं पुर्याउने र त्यसपछि बयानका लागि चितवन लैजाने प्रहरीको तयारी छ ।
‘अहिले दोषी भएँ भनेर निराश हुनुपर्ने अवस्था छैन, भोलि निर्दोष हुन सक्नुहुन्छ । यो प्रक्रियालाई चाहिँ सघाउनुपर्यो,’ न्यायाधीश बेलबासेको आग्रह थियो, ‘अहिले दोषी भएँ भनेर सोचिहाल्न पनि पर्दैन, अहिले निर्दोष छु भनेर भनिहाल्न पनि पर्दैन ।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहँदा ९० दिन हिरासतमै राख्न सकिने व्यवस्था छ । पोखरामा रविविरुद्ध अभियोग दर्ता भएर उनी धरौटीमा छुटे भने पनि अनुसन्धान भइरहेका अरु ठाउँमा उनलाई उपस्थित गराउनुपर्छ ।