निजामतीमा ५२ हजार दरबन्दी रिक्त, दैनिक सेवा प्रवाहमा समस्या

12.5k Shares

काठमाडौँ । निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६ पदमा कर्मचारीको दरबन्दी रिक्त रहेको देखिएको हो । ठुलो सङ्ख्यामा निजामती कर्मचारीको दरबन्दी रिक्त रहँदा सरकारले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका काममा समस्या पर्दै आएको छ । 

राष्ट्रिय किताबखाना (निजामती) का अनुसार सङ्घ, प्रदेश र स्थानीयसमेत तीन वटै तहमा गरी कुल एक लाख ३८ हजार १२४ दरबन्दीमध्ये ८५ हजार ३५८ वटा मात्र दरबन्दीमा कर्मचारी कार्यरत रहेको देखिन्छ । सङ्घीय र प्रदेश लोक सेवा आयोगबाट वार्षिक रूपमा करिब नौ हजारको हाराहारीमा कर्मचारीको दरबन्दी पूर्तिका लागि सिफारिस हुँदै आएको जनाइएको छ । 

 आयोगले सिफारिस गरेका उम्मेदवारभन्दा अवकाश हुने कर्मचारीको सङ्ख्या धेरै हुँदा निजामती सेवामा ठुलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदै गएको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ । निजामती सेवामा खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव र सहसचिवसम्मको कर्मचारीको दरबन्दी रिक्त छन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार