यश मार्गले काठमाडौँ उपत्यका–काभ्रे–सिन्धुली–उदयपुर हुँदै सुनसरी जिल्लाको बरहाक्षेत्रसम्मको महाभारत श्रृंखलालाई जोडने उनले बताए । उनका अनुसार यस मार्ग ललितपुरको ग्वार्को, लाकुरी भञ्ज्याङ्ग, काभ्रेको पनौती, बेथान चोक, ढुंखर्क, कामीडाँडा, साँगापोट, सिपाली, जुकेपानी, सिन्धुलीको सातदोबाटो, बन्दिपुर, सिन्धुलीगढी, खनियाँखर्क, धापचौकी, कालीमाटी, बाहुनतिल्पुङ्ग, महादेवडाँडा, उदयपुरको तिनखण्डे गँहुवारी, बेतिनी, राउतखर्क, ओख्ले, चिसापानी, ताप्ली, माझखर्क, पुँवारे, रौता साउँने, चौदण्डीगढी हुँदै सुनसरीको चतारासम्म पुर्याउन सकिने छ । करिब ३०० कि।मि।को यस मार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, कृषि लगायतका क्षेत्रमा योगदान पुर्याउने उनको भनाइ छ ।
सांसद श्रेष्ठले ग्वार्कोदेखि ढुंखर्कसम्मको सडक कालोपत्रे भैसकेको र बाँकी खण्डको अधिकांश भागमा समेत ट्रयाक खुलेको अवस्था रहेको भन्दै आर्थिक दृष्टिले पनि सस्तो पर्ने बताए । उनले महाभारत क्षेत्रमा बसाइँसराइको समस्या तीव्र रहेको भन्दै महाभारत पर्यटन मार्ग बनेमा सो क्षेत्रको बसाइँसराइ रोकिने विश्वास व्यक्त गरे। सडकको दायाँबायाँ अधिकांश ठाउँमा लिंकरोड बनिसकेकाले भन्दै उनले सो क्षेत्रका कृषि उत्पादन सिधै काठमाडौँ उपत्यकामा ल्याई लाखौं कृषकहरुको जीवनस्तर बदल्न सकिने पनि बताए ।
सांसद श्रेष्ठले वीपी र पुष्पलाल राजमार्ग अवरुद्ध भएको बेला काठमाडौँ उपत्यकाबाट पूर्व जोड्न महाभारत पर्यटन मार्गले मेरुदण्डको काम गर्ने भन्दै यसलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।