उच्च शिक्षा हासिल गर्ने सिलसिलामा तुल्सीपुर दाङबाट काठमाडौं आएका खेलकुदप्रति रुचि राख्ने सुमन कुमार घले गुरु अर्जुन विकको प्रेरणाले तेक्वान्दो खेलमा लागि अहिले तेक्वान्दो खेलको हस्तीको रुपमा आफूलिाई परिचित गर्न सफल बनेको छन् ।
आफूलाई फुटबल खेलप्रति रुची भए पनि गुरु विकको प्रेरणाले आफू तेक्वान्दो खेलमा लागि हाल छैठौं डानको रुपमा रहेका घले राष्ट्रिय खेलकुद परिषद्को स्थायी कर्मचारीको रुपमा सहायक प्रशिक्षकको रुपमा दाङ जिल्लामा तेक्वान्दो खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
२०४२ सालबाट तेक्वान्दो खेल्न सुरु गरेका घलेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगिताहरुमा खेलाडीको रुपमा सहभागिताको अनुभवसमेत बटुलिसकेका छन् । १० वर्षपछि अर्थात् २०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद्कै करार कर्मचारी बनी प्रशिक्षण दिँदै २०६० सालबाट स्थायी भई दाङ जिल्लामा तेक्वान्दो खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
विगतको तुलनामा अहिले सुगम ठाउँमा खेलकुद क्षेत्रमा लागेर दैनिकी चलाउने वातावरण बनेको बताउने घले राखेप अन्तर्गत सहायक प्रशिक्षकको रुपमा स्थायी भएको १८ वर्षसम्म पनि सहायक प्रशिक्षककै रुपमा सेवा सुविधा पाउँदै आइरहेका छन् । अन्य सरकारी निकायमा जागिर खाएको भए अहिले दुई—चारवटा बढुवा खाइसकिने थियो तर खेलकुद क्षेत्रमा यस्तो नहुनुमा आफूलाई दुःख लागेको उनी बताउँछन् । समयमा बढुवा हुने हो भने प्रशिक्षकहरुको पनि मनोबल बढ्ने र राम्रो खेलाडी कसरी उत्पादन गर्न सकिन्छ भनेर मेहनत गर्न मन लाग्छ, तर खेलकुदको विकासको जिम्मेवारी लिएको सम्बन्धित निकायले कर्मचारीको बढुवाको त कुरै छाडौं खेलाडीलाई प्रशिक्षण दिन चाहिने सामाग्रीसमेत उपलब्ध नगराउने गरेको कारण आफूलाई साह्रै नै दुःख लाग्ने गरेको घले बताउँछन् ।
खेलकुदको विकासको जिम्मेवारी बोकेको राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरुले राजनीतिक कार्यकर्ता भर्ती र आफ्ना आसेपासेलाई मात्र हेर्ने दृष्टिकोणले कसरी हुन्छ खेलकुनको विकास ? १८ वर्षसम्म एउटै पदमा रहेर खेलाडीहरुलाई प्रशिक्षण दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गरिसकेको सुमन कुमार घले दुखेसो पोख्छन् । रापेखले खेलकुद क्षेत्रमा रहेकाहरुलाई प्रोत्साहन गरी खेल क्षेत्र विकासका लागि गर्नुपर्ने जिम्मेवारलाई वेवास्ता गरी आफ्ना आसेपासे, राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको कारणले पनि नेपालको खेलकुद क्षेत्रले खासै विकास र प्रगति गर्न नसकेको गुनासो पोख्छन् घले ।
ख्ेलकुद क्षेत्रमा अन्य सरकारी निकायका कर्मचारीलाई जस्तो सेवा सुविधा दिएर कसरी हुन्छ खेलकुद विकास ? खेलकुद क्षेत्र भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो देशको नाम चिनाउने क्षेत्र हो । त्यसैले यो क्षेत्रमा राष्ट्रले राम्रो लगानी गर्नुपर्ने घले बताउँछन् । खेलकुद क्षेत्रबाटै विश्वमा नाम कहलाउन ब्राजिल, अर्जेन्टीनालगायतका मुलुक सफल बनेको उनी बताउँछन् ।
दाङ जिल्लाको सहायक प्रशिक्षकका रुपमा रहेका सुमनद्वारा प्रशिक्षित खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् । उनीद्वारा प्रशिक्षित भिम विकले थाईल्याण्डमा भएको तेह्रौं एसियन गेममा सहभागिता जनाएका थिए भने सो गेममा तेक्वान्दो विधामा नेपालका लागि अहिलेसम्मकै ठूले पदक सविता राजभण्डारीले रजत पदक प्राप्त गरेकी थिइन् ।
भारतको आसाममा भएको बाह्रौ दक्षिण एसियाली खेलमा नेपाली तेक्वान्दो टिमको सफलतापूर्वक व्यवस्थापकको भूमिका सुमन कुमार घलेले बहन गरेका थिए । सो प्रतियोगितामा तेक्वान्दो विद्याबाट सबै खेलाडीले पदक ल्याउन सफल बनेका थिए ।
नेपालमा खेलकुन विकास गर्न राष्ट्रिय खेलकुद परिषदले खेलकुदका सम्बन्धित संघलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खुल्नु पर्ने घले बताउँछन् । किनकी संघमा रहेका धेरै पदाधिकारीहरु खेलकुद बुझेका, खेलकुदप्रति चासो राख्ने, खेलकुदका जानकारहरु हुन्छन् । त्यसैले यसतर्फ खेलकुद विकासको जिम्मेवारी बोकेको सम्बन्धित निकायले चासो देखाउनुपर्ने घलेको धारणा रहेको छ ।
सुमन कुमार घले दाङ जिल्ला तेक्वान्दो संघको १५ वर्ष नेतृत्व, केन्द्रीय सदस्य एक कार्यकाल र पछिल्लो समय संघको केन्द्रीय कार्य समितिमा सह—कोषाध्यक्ष पदमा रही कार्य गरी अनुभव बटुलिसकेका प्राविधिक र व्यवस्थापकीय भूमिकामा अब्बल व्यक्तित्वको रुपमा परिचित छन् । अहिले पनि कतिपय जिल्लाहरुमा राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दो खेल्न प्रशिक्षकहरु पठाउने गरे पनि प्रशिक्षण दिँदा चाहिने भौतिक पूर्वाधार, खेल्दा चाहिने आवश्यक सामाग्री र भौतिक पूर्वाधारबिनै प्रशिक्षण दिँदै आइरहेका छन् । यस्तो अवस्थामा कसरी हुन्छ खेलकुद विकास ? सहायक प्रशिक्षक सुमन बताउँछन् ।