१ करोड ८० लाख घुस रकम सिधै जग्गा विक्रेताको खातामा

14k Shares

काठमाडौं । लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले कोषमा अर्बौं रुपियाँ ठेक्का दिलाएबापत विभिन्न ठेकेदार कम्पनीबाट करोडौं रुपियाँ उठाएर भक्तपुरमा जग्गा खरिद गरेको पुष्टि भएको छ।

ठेकेदार कम्पनीले पनि घुस रकम कर्मचारीको खातामा नपठाई मिलेमतो गरी भक्तपुरमा जग्गा बिक्रेताको खातामा पठाइदिएको र सो पैसाबाट इन्जिनियर भट्टराईले आमा जनक नन्दनीको नाममा १ करोड ८० लाख मूल्य बराबरको जग्गा खरिद गरेको पाइएपछि अख्तियारले भ्रष्टाचारको रकम जग्गामा रूपान्तरण गरी भ्रष्टाचारको रकमलाई शुद्धीकरण गर्न खोजेको भन्दै निज भट्टराईविरुद्ध पहिलोपटक सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको अनुसन्धानबाट भट्टराईले आमाको नाममा भक्तपुर सूर्यविनायक नगरपालिका–७ स्थित कित्ता नम्बर १३७४ र १३७५ को क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० क्षेत्रफलको जग्गा खरिद गरेको पाइएको हो । भट्टराईलाई जग्गा खरिदका लागि लुम्बिनी विकास कोषबाट विभिन्न ठेक्का लिएका विभिन्न निर्माण कम्पनीबाट सिधै जग्गावाला आइते तामाङको नाममा पठाइदिएका थिए । जसअनुसार काबुल निर्माण सेवाले २०७९ साल वैशाख २२ गते १० लाख रुपियाँ पठाएको थियो।

यसै गरी आइते तामाङको खातामा अर्घाखाँची काबुल जेभीले २०७९ साल वैशाख २६ गते ३० लाख रुपियाँ पठाएको थियो। जग्गा विक्रेता तामाङको कृषि विकास बैंकको खातामा विभिन्न समयमा गरी ७८ लाख ७ हजार २ सय रुपियाँ जम्मा भएको थियो। यसै गरी फेरि पनि २०७९ साल वैशाख २७ मा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपियाँ जम्मा भएको थियो ।

यसै गरी जग्गावाल आइते तामाङको सानिमा बैंकको खातामा खनी अर्घाखाँची बाबुल जेभीबाट, लुम्बिनी अर्घाखाँची बाबुल जेभीबाट गरी विभिन्न समयमा १ करोड ४ लाख रुपियाँ आएको थियो । यसरी आइते तामाङले सबै पैसा जम्मा गरी सरोजकी आमा जनक नन्दनीको नाममा सो जग्गा २०७९ साल वैशाख २७ गते नै हक हस्तान्तरण गर्दै दर्ता कायम भएको थियो । निज भट्टराईविरुद्ध ८० लाख रुपियाँ घुस लिएको रुकमसम्बन्धी कसुरमा यसअघि नै मुद्दा दायर भएकोमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । थप अनुसन्धान गर्दा भट्टराईले कोषको ठेक्कापट्टा लगाउँदा अरू १ करोड ८५ लाख रुपियाँ पनि घुसबापत लिएर आमाका नाममा जग्गा किनेको भेटिएको हो ।

अख्तियारले उनीविरुद्ध अघिल्लोपटक दायर गरेको मुद्दाको ८० लाख र थप अनुसन्धानबाट खुलेको १ करोड ५ लाख घुसबापतको रकम शुद्धीकरण गरी जग्गा खरिद गरेको कसुरमा कुल १ करोड ८५ लाख रुपियाँँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । संघीय संसद्ले गत वर्ष ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधनपछि ‘सम्बद्ध कसुर (प्रेडिक्टेड अफेन्स) सँग सम्बन्धित सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भई प्रतिवादी भट्टराई र निजकी आमाउपर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार