काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका बेला विगतमा त्रिविलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको छ ।
काठमाडौँ उपत्यकाभित्र रहेको त्रिविको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो । अध्ययनका क्रममा ललितपुर लुभुको ३७५ रोपनी र कपनको २९ रोपनी आठ आना जग्गाको विषय हालसम्म बेखबर छ । जब कि यी दुवै स्थानको जग्गा त्रिविलाई दिने भनिएको सरकारी दस्ताबेजबाट नै पुष्टि हुन्छ ।
तत्कालीन मुमा बडामहारानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा ३७५ रोपनी जग्गा दिनुभएको थियो । २०१३ सालमा आफ्नो निजी बिर्ताका रूपमा रहेको उक्त जग्गा उहाँहरूले त्रिवि स्थापना नहुँदै दिने घोषणा गर्नुभएको थियो तर अहिले उक्त जग्गा के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन ।
मुमा बडामहारानीद्वयले उक्त जग्गा दिएको विषयमा २०१३ साल असार १९ गतेको गोरखापत्रमा समाचारसमेत छापिएको थियो । असार १७ गतेको डेटलाइन भएको तर १९ गते ‘तीन सय पचहत्तर रोपनी बिर्ता जग्गा त्रिभुवन विश्वविद्यालयका निम्ति श्री ५ मुमाबडामहारानीहरूबाट बक्सियो’ भन्ने शीर्षकमा छापिएको समाचार अध्ययन गरेपछि मात्रै लुभुमा दिइएको जग्गाबारे जानकारी भएको समितिले जनाएको छ ।
विश्वविद्यालयको उपत्यकाभित्रको जग्गा अध्ययन तथा अनुसन्धान गर्न सरकारले समिति गठन गरेपछि यो तथ्य उजागर भएको हो । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिका सदस्य जानकीवल्लभ अधिकारीका अनुसार विभिन्न सरकारी दस्ताबेज अध्ययन गरेपछि मात्रै लुभुमा त्रिविलाई जग्गा दिने निर्णय भएको बारेमा पत्ता लागेको हो । आजको गोरखापत्र दैनिकबाट