फलफूलको जुस होइन ‘चिनीको झोल’

13.1k Shares

काठमाडौं । तपाईंले फलफूलको रस सम्झिएर बजारमा किन्ने गरेको पाकेटबन्द झोलमा कति प्रतिशत फलफूलको रस हुन्छ कहिले विचार गर्नुभएको छ ? वा यसको बट्टाको चारैतिर फर्काएर पढ्नुभएको छ ? बजारमा किन्नुअघि वा अरूले कोसेली ल्याइदिएको यस्तो झोल खानुअगाडि एकपटक बट्टा घुमाइघुमाई पढ्नुहोस् अनि तपाईं यथार्थताको नजिक पुग्नुहुन्छ।

नेपाली बजारमा छ्याप्छ्याप्ती भेटिनेमध्ये एउटा तथाकथित जुसको ब्रान्ड हो ‘रियल’। यो र यस्तै ब्रान्डका अन्य चिनीको झोल धेरैजसो बिरामी, केटाकेटी, बुढाबुढी, रक्तदातालाई तागत आउँछ भनेर दिने गरिन्छ। यो तथाकथित जुसको बाहिरी खोलमा अनार, अम्बा, आँप, सुन्तला, भुइँकटहर, लिची आदिको आकर्षक फोटो देखेपछि उपभोक्ताले साँच्चिकै फलफूलको जुस सम्झिएर किन्छन्, पिउँछन्। जसलाई हामी ‘रियल जुस’ सम्झन्छौं, त्यसको उत्पादक कम्पनी आफैँले त्यसलाई ‘फ्रुट जुस’ नभनेर ‘फ्रुट पावर’ मात्र भनेको छ। तर, हामी साँच्चिकै फलफूलको जुस सम्झिएर घुट्क्याउँछौँ र आफैँलाई ठग्छौँ।

यो ब्रान्डको चिनीको झोलको पाकेटबाहिर उत्पादक आफैँले पानी मिसाउनुअघिको फलफूलको लेदोको मात्रा (जुस कन्सन्टे«ट) ६.४५ प्रतिशत र पानी मिसाइसकेपछिको जुसको मात्रा ४० प्रतिशत रहेको उल्लेख गरेको छ। यसबाहेक अरू वस्तुहरूमा चिनी, पानी, नुन, एसिडिटी, रंग आउने वस्तु, फलफूलको बास्ना आउने वस्तु आदि रहेको उल्लेख गरेको छ। उत्पादककै भनाइअनुसार पनि ६० प्रतिशतचाहिँ सम्पूर्ण रूपमा चिनी र पानीको झोल समावेश गरिएको छ। यसमा चिनीको मात्रा २३.७ प्रतिशत रहेको उल्लेख गरिएको छ। आधाभन्दा बढी चिनीको झोल भएपछि यो कसरी ‘फ्रुट जुस’ हुन्छ त ?

यो चिनीपानीको झोलको बट्टाको अगाडिको भागमा प्रिजरभेटिभ्सको प्रयोग नगरिएको उल्लेख भएको देख्दा कुनै रसायन प्रयोग नगरी कसरी एक डेढ वर्षसम्म सुरक्षित रहन्छ भन्ने प्रश्न उठ्छ। तर, पछाडिको भागमा ‘स्टेबलाइजर’ प्रयोग गरिएको उल्लेख छ। स्टेबलाइजर भनेको पनि एक प्रकारको केमिकल नै हो, जसले खानेकुरालाई लामो समयसम्म ताजा राख्न र बनावटलाई स्थिर राख्न मद्दत गर्छ।

जुसको भ्रममा परेर हामीले बजारमा किन्ने गरेका रियलबाहेक अरू विभिन्न ब्रान्डका चिनीका झोलहरू उपलब्ध छन् । यस्ता चिनीका झोल कहिलेकाहीँ पिउनु उति खराब नभए पनि चिनी, नुन, रंग र रसायनको मात्राका कारण यस्तो झोल नियमित पिउनु भने हानिकारक हुन्छ। अझ बट्टामा फलहरूको फोटो देखेका भरमा साँच्चिकै फलकै रस सम्झिएर पिउनु हामी आफैँले आफूलाई धोका दिनु हो। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार