खोटाङमा बाघ आतङ्क : नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई पत्राचार

14.9k Shares

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले बाघ नियन्त्रणका लागि डिभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका दुई दर्जन बढी पशुचौपाया बाघले खाएपछि नियन्त्रणका लागि प्रहरीले वन कार्यालयलाई पत्राचार गरेको हो ।

बाघ मार्ने अधिकार कसैलाई पनि नभएकाले नियन्त्रणका लागि डिभिजन वन कार्यालयलाई लिखित रुपमा पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

“जङ्गलबाट गाउँ पसेको बाघले आतङ्क मच्याएको खबर जिल्लाका विभिन्न ठाउँका स्थानीय बासिन्दाबाट प्राप्त भएको छ । सबैभन्दा बढी केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित मामातिमका स्थानीय बासिन्दाको पशुचौपाया क्षति गरेको विवरण प्राप्त भएको छ”, उनले भने , “बाघ संरक्षित जनावर हो । बाघ मार्ने अधिकार कसैलाई पनि छैन । त्यसैले नियन्त्रणका लागि विभिजन वन कार्यालय खोटाङलाई पत्राचार गरिएको हो ।”

जङ्गलबाट गाउँ पसेको बाघले यही साउन दोस्रो हप्तादेखि जिल्लाका विभिन्न स्थानीय तहका किसानले पालेका पशुचौपायामा क्षति गरेको प्रहरीले जनाएको छ । खोरमा राखिएको खसीबाख्रा तथा गोठमा बाँधेर राखिएका गाईभैँसीको बाच्छाबाच्छी÷पाँठापाँडी खान थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएका छन् ।

सम्बन्धित समाचार