बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता

16.5k Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ५८ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकाअनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्छ । अर्थात्, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम् ९० प्रतिशत कायम गर्न पाइने व्यवस्था छ । यस्तै, बैंकहरूले न्यूनतम २० प्रतिशत खुद तरल सम्पत्ति कायम गर्नुपर्ने हुन्छ । हाल बैंक तथा वित्तीय संस्थामा ३० प्रतिशतभन्दा बढी खुद तरल सम्पत्ति पुगेको छ ।

केन्द्रीय बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने प्रावधान बनाएको हुँदा अहिले बैंकहरूसँग थप ८ खर्ब २८ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता देखिएको छ ।

एक महिनाअघि पनि बैंक तथा वित्तीय संस्थाको कर्जा ५१ खर्ब ५२ अर्ब मात्र थियो । यो अहिले सोही हाराहारीमा छ । तर, निक्षेप भने १ खर्ब बढी संकलन भएको छ । राष्ट्र बैंकको तथ्यांकनुसार बिहीबार २० असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार