काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशन १६ असारदेखि २० असारसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको चुनावी सरगर्मी बढेको छ । महाधिवेशनबाट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुन अध्यक्षमा सर्वसम्मत आउन खोजेका छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेत अगामी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट साढे दुई वर्षअघि विभाजन भएको एकीकृत समाजवादीको अगामी नेतृत्वका लागि नेपाल र खनाल प्रतिस्पर्धाबाट समेत नेतृत्वमा आउन खोजेका छन् ।
नेपाल र खनाल दुवैले एमालेको नेतृत्व गरिसकेको र पूर्वप्रधानमन्त्री भएर सरकारसमेत चलाइसकेका अनुभवी नेता हुन् । १०औं महाधिवेशनबाट दुवै नेताले अध्यक्षमा आउने अकांक्षा आफू निकटका नेताहरूसँग राख्ने गरेका छन् ।
नेपाल र खनालले नेतृत्वका लागि आन्तरिक जोडघटाउमा लागेकै बेला पार्टीका महासचिव घनश्याम भुसालसमेत अगामी नेतृत्वका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल र खनाल दुवै नेता नेतृत्वका लागि जोडबलका साथ लागिरहेका बेला भुसालले आफू सर्वसम्मत अध्यक्षमा आउन खोजेका छन् ।
एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भुसाल एमालेमै रहेका थिए । एमालेले गत आमनिर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि उनले एकीकृत समाजवादीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारी पाए ।
एमालेको सौराहामा भएको महाधिवेशनमा भुसाल उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेका भुसाल ओलीको कार्यशैली एवं गलत क्रियाकलापको सधंै चर्को रूपमा विरोध गरिरहेका थिए । पार्टीमा खनाल निकट मानिने भुसाल वैचारिक नेतामा पर्छन् ।
आगामी महाधिवेशनमा दुवै नेताले अध्यक्षको दाबी नछाड्दा सर्वसम्मत अध्यक्ष चयनको विषयले प्राथमिकता पाउन थालेको छ । केही दिनयता दुवै नेताले सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू बाधक नबन्ने अभिव्यक्ति दिन थालेका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको निकटका अखिल नेपाल महिला संघ (समाजवादी)को मुखपत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वसम्मत नेतृत्व चयनका लागि सबैले सोच्नु राम्रो कुरा भएको बताए ।
‘महाधिवेशन एकताबद्ध भएर गरियोस् भन्ने कुरा आएको छ, यो बहुत राम्रो र सुन्दर कुरा हो । त्यही विषयमा सबैले विचार गर्नु राम्रो हुन्छ । यो आन्दोलन अप्ठ्यारो अवस्थामा अगाडि बढाएका हौं । त्यस बेलामा खुट्टा कमाएर धर्मर गरेको भए पार लगाउनसक्ने थिएनौं । चुनौतीको बेलामा मानिसको पहिचान हुन्छ,’ नेपालले भने । आजको राजधानी दैनिकबाट