सहकारीमा बेथिति : पति अध्यक्ष, जग्गा र कम्पनीमा पत्नीको हालीमुहाली

15.7k Shares

काठमाडौँ । भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् । 

सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माका नाम खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् । 

सहकारीको बचतलाई अध्यक्ष शर्माले पूर्वमा मोरङदेखि पश्चिममा दाङसम्म गरी शिवशिखर सहकारीका ४३ वटा शाखा कार्यालयमार्फत करोडौँ रकम अपचलन गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अध्यक्ष शर्मा र पत्नी गीताका नाममा रहेको सबै सम्पत्ति रोक्का गरी अनुसन्धान अघि बढाइएको छ । समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार तुलसी सहकारीको एक अर्ब ४४ करोड ६९ लाख तीन हजार ८४५ रुपियाँ बचतकर्ताको रकम हिनामिना भएको मागदाबी गरे पनि शिव शिखरको सम्पूर्ण विवरण आइसकेको छैन । उहाँले भन्नुभयो, “सहकारीको बचत रकम दुरुपयोगमा पतिपत्नी नै संलग्न रहेको देखिएको छ । सबै शाखाका कागजात ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।”

सर्वसाधारणले बिहानबेलुका छाक काटेर बचत गरेको रकम सहकारीका सञ्चालकले कम्पनी खोलेर लगानी गरेका छन् । अध्यक्ष शर्मा, पत्नी गीतासँगै शिव शिखर अर्गनाइजेसन लिमिटेड, शिव शिखर एग्रो प्रालि, शिव शिखर उद्योग प्रालि, नटराज एग्रो प्रालि, तुलसी मोरटपम्प इन्डस्ट्री प्रालिमा लगानी गरेको खुलेको छ । 

त्यसै गरी शिखर स्पाइस एन्ड फ्रुट इन्डट्रिज प्रालि, गार्डेन मार्ट प्रालि, तुलसी कृषि अनुसन्धान केन्द्र प्रालि, त्रिदेवी फ्लोर एन्ड ओयल इन्डस्ट्री प्रालिमा पनि सहकारीकै लगानी छ । सदस्य सचिव पौडेलका अनुसार सहकारीको लगानी भएका कम्पनीसहित १३७ वटा कित्ता नम्बरको जग्गा समितिले रोक्का गरेको छ । उहाँले भन्नुभयो, “तीमध्ये आधा जति समितिले पहिलो पटक रोक्का गरेको छ । अरू जग्गा बैङ्कसहित अरू निकायले पनि रोक्का गरेका छन् ।”

अध्यक्ष शर्माकी पत्नी गीताका नाममा काठमाडौँको दहचोकमा कित्ता नम्बर ४६२ को नौ आना तीन पैसा तीन दाम, कित्ता नम्बर ४६५ को तीन आना तीन पैसा एक दाम र कित्ता नम्बर २०७ को छ आना दुई पैसा जग्गा प्रभु बैङ्क, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय बागलुङ र समितिले रोक्का गरेको छ । 

त्यसै गरी अध्यक्ष शर्माकी पत्नी गीता र शिव शिखर एग्रो प्रालिको नाम बाँकेको शमशेरगन्ज, वनकटवा र रझेनामा १२ वटा कित्ता नम्बरको जग्गा पनि रोक्का भएको छ । बाँकेमा १२ वटा कित्ता नम्बरमा गीता र एग्रो प्रालिका नाममा १० हजार ३९७ वर्गमिटर जग्गा रहेको समितिले जनाएको छ । समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले भन्नुभयो, “हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ । मेरो पदावधि सकियो । अब नयाँ अध्यक्ष आएपछि थप प्रगति हुन्छ ।” आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार