काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए । “आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ”, उनले भने, “तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन । अन्य भू–भागमा भने मौसम सफा रहनेछ ।”
वन डढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको मङ्गलबार तथा रमेश पहारीको आज बिहान मृत्यु भएको हो ।
प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताए छन् । “आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ”, उनले भने, “पानी परेको छैन तर हावाहुरीले वारिको आगो पारि पुर्याएर डढेलो फैलिरहेको छ ।”
उनका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उनको भनाइ छ । शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिए ।
उनका अनुसार नेपालमा साधारणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् । “८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छाँै”, शर्माले भने, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोको घटना बढी हुने गरेको पाइन्छ ।”
वनविज्ञ डा सोनी बराल गौलीले वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको भन्दै संरक्षणमुखी वन व्यवस्थापनमा भन्दा व्यवस्थापनमुखी वन विकासमा जोड दिनुपर्ने बताइन् ।