काठमाडौं । सरकारले गुठीसम्बन्धी मौजुदा संरचना र कानुनलाई पुनरावलोकन गरी संविधान अनुरूप गुुठीसम्बन्धी ऐन ल्याउने गृहकार्य गरिरहेको छ।
देशभरका गुठीलाई निर्देशित गर्ने गुठी संस्थान ऐन २०३३ ले अहिलेको आवश्यकता, अपेक्षालाई सम्बोधन गर्न नसकेको भन्दै सर्वसाधारण र सम्बद्ध पक्षको लामो समयदेखिको असन्तुष्टिलाई ध्यानमा राखेर गुठीसम्बन्धी नयाँ ऐन ल्याउन गृहकार्य अघि बढाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बताउनुभयो।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गुठीसम्बन्धी सरोकारवालासँग सुझाव लिएर कानुनको मस्यौदा तयार पार्न संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय काजीबहादुर विष्ट, नापी विभागका प्रमुख नापी अधिकृत मग्नु दत्त, दीपकराज पाठक, गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल रहनुभएको छ ।
कार्यदललाई नेपालको संविधानको धारा २९० अनुरूप गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी सम्पत्तिको संरक्षण एवं उपयोग, गुठीको मौलिकताको संरक्षण गर्न मौजुदा कानुनमा गर्नुपर्ने खाकासहित नयाँ कानुनको मस्यौदा पेस गर्ने जिम्मेवारी दिइएको छ।
कार्यदललाई दिएको कार्यक्षेत्र सर्तमा भनिएको छ– ‘सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तसमेतको आधारमा गुठीसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै गुठीसम्बन्धी विद्यमान व्यवस्था, प्रथा, परम्परा र गुठी संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जनको खाकासहितको नयाँ गुठी कानुनको मस्यौदा तयार गरी मन्त्रालयमा एक महिनाभित्रमा पेु गर्नू ।’
कार्यदलले विद्यमान गुठीसम्बन्धी कानुनमा भएका कानुनी, सांस्कृतिक तथा परम्परागत व्यवस्थाहरू र गुठी व्यवस्थापन सम्बन्धमा अदालतबाट भएका आदेश/निर्णय र गुठी व्यवस्थापन गर्न यसअघि गठित विभिन्न आयोग, समिति एवं कार्यदलको प्रतिवेदनहरूमा भएका परिभाषित व्यवस्थाहरूको अध्ययनलाई केन्द्रबिन्दुमा राख्न भनेको छ। त्यसै गरी काठमाडौं उपत्यकाका मठ मन्दिर, देवालय, गुम्बा आदिको व्यवस्थापन सम्बन्धमा गुठीसम्बन्धी विद्यमान व्यवस्थाहरूको अध्ययन गरी काठमाडौं उपत्यकाको हकमा उपयुक्त कानुनी व्यवस्था गर्न छुट्टै परिच्छेदको व्यवस्था गर्ने पनि भनिएको छ। आजको नेपाल समाचारपत्र दैनिकबाट