विद्यार्थी भर्ना अभियानमा नेता–मन्त्रीकै बेवास्ता

19.2k Shares

मकवानपुर । ५ वैशाख २०७५ मा बाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय भर्ना अभियानलाई समर्थन गर्दै एकै दिन तीन जना बालबालिकाको अभिभावकत्व गरे । उनीहरूलाई पौडेलले सामुदायिक विद्यालयमा भर्ना गराए ।

नेपाल सरकारले सुरु गरेको भर्ना अभियानअन्तर्गत पौडेलले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीमा दुई बालबालिका भर्ना गराइ आफूले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता जनाए । सोही दिन उनले मनहरीकै महेन्द्र किरण माविमा एक बालकलाई आफूले अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराए । उनले मनहरी–६ जोगीटारका स्थानीय ६ वर्षीय सन्जित ब्लोन र जेसिका प्रजालाई राष्ट्रिय मावि सुनाचुरीमा कक्षा एकमा भर्ना गरिदिएका हुन् । उनीहरू दुवै जना ६–६ वर्षका थिए ।

तर ती बालबालिका अहिले कति कक्षामा पुगे ? स्कुल पढ्दै छन् वा पढ्न छाडे पौडेललाई थाहा छैन । ‘मैले अभिभावकत्व ग्रहण गरेको हो तर अहिलेको अवस्था थाहा छैन,’ पौडेले भन्छन्, ‘२०७६ सम्म त ख्याल गरेको थिएँ, पछि मैले नि भ्याइनँ ।’

पूर्वमुख्य मन्त्री पौडेलले अभिभावकत्व ग्रहण गरेका सन्जित ब्लोन अहिले भारतको मृकबजार भन्ने ठाउँमा गुम्बामा लामा विद्या पढ्दै छन् । ‘भर्नापछि उहाँहरू फर्केर आउनुभएन, मलाई दुई जना छोराको खर्च धान्न पनि समस्या नै थियो अनि भारत पठाएँ,’ सन्जितका बुबा भीमबहादुर ब्लोनले भने, ‘यहाँ मलाई खर्च धान्न पनि समस्या थियो, अहिले उनीहरू उता पढ्छन् र अलिअलि पैसा पनि पठाउँछन् ।’

अर्की बालिका जेसिका, यस वर्ष कक्षा ४ मा अनुत्तीर्ण भइन् । पौडेलले २०७५ सालमा स्कुल भर्ना गरेर शैक्षिक सामग्री र विद्यालय पोसाकसमेत सहयोग गरेका थिए । अहिले उनलाई शैक्षिक सामग्रीको जोहो गर्न धौधौ भएको बुबा ज्ञानबहादुर प्रजाले बताए । ‘उनकी आमाको पनि मृत्यु भयो, दिदी रेबिकालाई पनि मामा घरमा राखेर पढाएका छन्, मेरो त ८ सन्तान, पढाउने खर्च नै छैन,’ ज्ञानबहादुरले भने ।

पूर्वमुख्यमन्त्री पौडेलले मनहरीकै महेन्द्रकिरण माविमा भर्ना गराइका सुमन चेपाङ (वर्ष ६)को पनि अभिभावकत्व ग्रहण गरेका थिए । सुमन’bout पनि आफूलाई थाहा नभएको पौडेलले बताए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार