काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले आफूले कोरोनाभाइरसलाई हराएको बताएका छन् । दोस्रोपटक १४ दिन अस्पताल बसेर करिब एक हप्ताअगाडि घर फर्किएका उनले आफ्नो अनुभव समाजिक सञ्जामार्फत सेयर गरेका छन् ।
उनी पहिलोपटक आठ दिन र दोस्रोपटक १४ दिन ललितपुरस्थित मेडिसिटी अस्पतालमा बसेर फर्किका हुन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले कोरोनाभाइरस निकै बलियो रहेको तर आफूले त्यसलाई हराउन सफल भएको जनाएका छन् ।
“कोरोनाले मलाई पर्छान त नराम्रो सँगै पछार्यो । पछार्यो मात्र हैन, अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजा¥यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो, बेला–बेलामा तर्सायो पनि,” उनले लेखेका छन्, “बलियोचाहिँ निकै बलियो रहेछ बजिया... ! तर, सबैको माया, शुभेच्छा, प्रार्थना र आर्शीवादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन । यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाइयो ।”
चिकित्सकका अनुसार आफ्नो शरीरमा एन्टिबडी बनिसकेको तर अझै पनि कोरोनाको रिपोर्ट भने नेगेटिभ नआएको उनले उल्लेख गरेका छन् । मदनकृष्णको परिवारमा नै वैशाखको पहिलो साता कोरोना पुष्टि भएको थियो ।
सोमबार गरिएको पीसीआर परीक्षणमा परिवारका अरु सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको तर उनको भने पोजिटिभ नै देखिएको उनले बताएका छन् । तर, चिकित्सकले त्यसले केही फरक नपार्ने बताएको भन्दै उनले लेखेका छन्, “जे होस् बाँचियो बा...।”
मदनकृष्ण नेगेटिभ रिपोर्टको पर्खाइमा रहेका कारण दोस्रोपटक अस्पतालबाट घर फर्किएको कुरा गुपचुप राखिएको थियो । तर, सबैले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गर्न थालेपछि सामाजिक सञ्जालमार्फत शुभेच्छुक, चिकित्सक र नर्सहरुप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।
आफू रिपोर्ट नेगेटिभ आएपछिको खुसीको पखाईमा रहेको उनले बताएका छन् । उनले भनेका छन्, “यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ । मनमा अझै पनि पूरा खुसी लागेको भने छैन । देशमा अझै पनि कोरोनापीडितहरु धेरै बाँकी छन् । कतिपय अझ थपिँदै पनि छन् ।”
उनले सरकारलाई सुझाव पनि दिएका छन्, “सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर, जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कसलाई शासन गर्ने ? हैन त ?”