बसन्त कुंवंर
सेनाको कल्याणकोषमा करीब ७६ अर्ब पैसा छ भन्ने सुने, भर्खर खुलेको सशत्र प्रहरीको कल्याणकोषमा पनि करीब ४ अर्ब पैसा छ रे भन्ने सुने तर ०४८ ÷४९ साल तिरबाटै संयुक्त राष्ट्र संघ (युगोल्लेभिया) पुगेका प्रहरीहरुले मोटो रकम हाली सुरु गरेका प्रहरी कल्याण कोषमा आज ३० बर्ष नाघ्दा पनि ४ अर्ब मात्र मुल धन किन ? यो प्रश्न अहिले प्रहरी र पुर्ब प्रहरी समाजमा मात्र होइन प्रेस जगतमा पनि पुगी सकेको छ । यो बिषयले अहिले ललिता निबास झैं चर्चा बटुलिसकेको छ ।
नेपाल पुर्ब प्रहरी संगठनले यस बिषय र यस बिषयको जबाफका लागी सडक, सदन, सरकार र अदालत चारै स्थानमा जाने योजना बनाइ सकेको छ किनकी यस संगठनले हरेक महानिरीक्षक (कोषका संरक्षक) हरुलाई यस बिषयमा गंभिर हुन र कल्याणकोषबाट पुर्ब प्रहरीहरुको न्यायोचित रुपमा कल्याणकारी काम गर्न पटक—पटक अनुरोध गरी सकेको थियो जसलाई प्रहरी प्रमुखहरुले ज्यादै हल्का रुपमा लिएको देखियो ।
३२ बर्षदेखि ती प्रहरी अफिसर र युएनमा जाने सिपाहीहरु जसले लाखौं रकम यो कोषमा बुझाए (एउटैले चार पॉच लाखदेखि बाइस तेइस लाखसम्म बुझाएका छन्) त्यो कोषबाट मैले चॉहि के सुबिधा पॉएं त ? भन्ने प्रश्न आज देसभरका पुर्बका मात्र होइन बहालका प्रहरीहरुको पनि मुखमुखमा छ । यस कोषबाट बहालका प्रहरीहरुको जिबनमा पनि खासै सुबिधा मिलेको देखिँदैन । उनिहरु चुप रहन बाध्य पनि छन् तर पुर्ब प्रहरी बाध्य छैनन् । म बंगलादेस गएको बेलामा त्यहाँको प्रहरी कल्याणकोषले प्रहरीहरुका लागी सस्तो जमिन किनी ब्यबस्थित बस्ती बसाएको र ठुला—ठुला महल चलाएको देखें । यहाँ त्यस्तो कहिले देखिएन ।
नेपालमा स्वर्गिय आइजीपी डि. बि लामाले मेला लगाई श्रीमतीहरुलाई तितौरा र मस्यौरा समेत बेच्न लगाई, प्रहरीहरुसँग एक दिनको तलब मागेर, नाच टोलि पठाएर, कल्याणकोष बनाइ अरबौको प्रहरी अस्पताल, स्कुल बनाएको देखियो तर २०५० सालपछि कोषमा बिना मेहनत अरबौ रुपैयाँ चलाउन पाएका डीबी लामा जस्तै पद भिरेकाहरुबाट चॉहि केहि ठोस काम भएको देखिएन । हुँदाहुँदा आज त प्रहरी अस्पतालमा समेत तल्ला प्रहरीहरुले पैसा तिरेर औषधी र टेस्टहरु किन्नु पर्ने दिन देखियो । भनिन्छ यो भएको कल्याणकोषमा पैसा नभएर हो रे ? फेरि कोषको पैसा खोइ त ?
नेपाल पुर्ब प्रहरी संगठनलाई बिश्वास छ, युएन गएका प्रहरीहरुले बुझाएको रकम, त्यस रकमको बैंक ब्याज, समुहमा एफयुपीका नामबाट गएका फौजले बुझाएको रकम, त्यो फौज पठाउँदा र फौजले प्रयोग गरेको उपकरण सबारी साधन आदिको युएनले दिने भाडा बापतको रकम फौज गएका मिसनहरुमा केही अफिसरहरुलाई दिइने थप रकम, डलरको वृद्धिसँगै हुने रकम र यस कोश संचालन हुनु अगावै चलेका पेट्रेल पम्प र पसलहरुको कमाइ आदीबाट हाल कल्याणकोषमा कम्तीमा १७ अर्ब पैसा हुनु पर्दथ्यो र त्यसबाट करीब ५ अर्बको लगानी भएको छ भनि मान्ने हो भने पनि (धेरै लगानि तत्कालिन क्षेत्रीय प्रहरी प्रमुख, अंचल जिल्ला र तालीम केन्द्रहरुलाई घर बनाउन लगाई वा बढी बिल देखाइ कल्याणकोषबाट बिल भर्पाइ बुझाएको छ भन्ने पनि चर्चा छ) हाल कोषमा कंतिमा १२ अर्ब हुनु पर्दथ्यो फेरी ४ अर्ब मात्र पैसा मात्र बॉकी किन त ? अरु खोइ त ?
यो प्रश्नको जबाफ माग्न र यस अनैतिक प्रणालि बिरुद्ध सडक सदन र अड्डा अदालतमा पुगी न्याय माग्न नेपाल पुर्ब प्रहरी संगठनलाई यस कारण आबश्यक भयो किनकी पुर्ब प्रहरी समुह जसले कोषमा ७०% रकम दिएका छन् एकातर्फ त्यो रकमनै हिनामिना भएको देखियो भने अर्कोतर्फ हालको ४ अर्बको १०% ले आउने ब्याज करीब ४० करोडबाट पनि केबल २ करोड मात्र मेडिकलमा पठाइ गरीब पुर्ब प्रहरीहरुलाई आफ्नै अस्पतालमा समेत औषधी उपचारमा पैसा तिर्न बाध्य बनाइयो । ४५ हजार पेन्सन खाने पुर्ब प्रहरीहरुलाई दुई करोडले के गर्ने ?
नेपाल पुर्ब प्रहरी संगठनले हाल प्रहरी कल्याण कोषमा ४ अर्ब मात्र किन ? यसको हिसाब किताब शुक्ष्म ढंगले २०५० साल देखिकै मागि सकेको छ । यो बचत बिल्कुलै अस्वभाबिक छ भनि बताइ सकेको छ । संगठनले त्यो अध्ययन गरी कतै हिनामिना वा अस्वभाबिक देखिए संबन्धित संरक्षकहरु बिरुद्ध कानुनि र नैतिक दबाब पनि दिने छ । त्यो बिबरण प्रहरी कार्यालयबाट प्राप्त नभए सुचना आयोग र अदालतबाट माग्ने छ र यस कोषमा पुर्ब प्रहरीहरुको योगदान अनुरुपको सेवा लिएरै छाड्ने छ । कोषको असल ब्यबस्थापनमा पनि नैतिक र कानुनि दबाब दिने छ ।
बर्षौदेखि महानिरीक्षकको मुड, जमिन्दारीता, सनकपन र आफु खुसि चलेको यस कोष गरीब प्रहरीहरुका लागी बनेको कोष थियो र हो भन्ने बुझि दिएको भए आज यस कोषमा ४ अरब मात्र रकम त पक्कै हुने थिएन । यो पबित्र कोष मास्ने, सिध्साउने र यसमाथि भ्रष्टाचार गर्नेहरु उपर नेपाल पुर्ब प्रहरी संगठनले असुल उपरमा मात्र होइन तिनलाई आफ्नो बर्गबाट सामाजिक बहिष्कार गर्न पनि अभियान थाल्ने छ ।
मुल धन नै खर्च गरी कता कमिसन आउँछ त्यतै मात्र लगानि गर्ने रणनिती मात्र बोकेका कोष संचालकहरुलाई लगाम लगाउन र तिनीहरुबाट ललीता निवासको जग्गा फिर्ता गरीए झै गरी कोषको रकम फिर्ता गराउन पनि नेपाल पुर्ब प्रहरी संगठनको एक आन्दोलन जरुरी देखिएको छ ।
यो पनि सत्य हो कि आज जो कल्याण कोषको संचालक आइजिपी साब हुनु हुन्छ उहाँ यस कोषको दुरुपयोगको कारण र पात्र होइन । यस्ता पात्र बिशेषत २०६४ साल अघिका बढी हुनुपर्दछ तर आज कोष उहाँसंग भएका कारण यस कोषको हिजोको अनिमियतता छानबिन र पुर्बहरुका लागि कोषबाट न्यायोचित रकम बितरण र ब्यबस्थापन गर्न उहाँको सहयोग होस् भन्ने नेपाल पुर्ब प्रहरी संगठनको अनुरोध हुनेछ । बदमासहरुलाई बचाउन हालका कोष संचालकहरुले आफु अलोकप्रिय र बदनाम भै रहन जरुरी छैन ।
पहिला प्रहरी प्रधान कार्यालय र नेपाल पुर्ब प्रहरी संगठन दुबै मिली हाम्रो कोषमा ४ अर्ब पैसा मात्र किन भयो ? यसको सही र गहिरो गरी जबाफ खोजांै ? दोश्रो पुर्ब प्रहरीको कल्याणमा १४ करोड जत्ती (ब्याजको ४०%) निकासा गरी दिउँ ता की गरीब पुर्ब प्रहरीहरुले उपचारमा पैसा तिर्न नपरोस् ।